वाईसीएल अध्यक्ष सेर्पालीको आह्वान- युवा साथीहरू झापड नलगाई यिनीहरूको होस् खुल्दैन, प्रतिरोधको लागि तयार रहनुस्


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको निर्णयको विरोध गर्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाईसीएल अध्यक्ष सुबोध सेर्पालीले सरकारविरुद्ध सशक्त प्रतिरोधको आह्वान गरेका छन् ।
सेर्पालीले घिसिङलाई हटाउने निर्णयलाई पूर्वाग्रही, खेदजनक, निन्दनीय र दुर्भाग्यपूर्ण बताएका छन् । उनले यस्तो निर्णयले सरकार कसले सञ्चालन गरिरहेको छ भन्ने प्रश्न उठाएको उल्लेख गर्दै, चार महिना कार्यकाल बाँकी रहँदा नै हटाइनुले यस पछाडि कुनै नियत लुकेको संकेत गरेको बताए ।
उनले सरकारको निर्णयविरुद्ध नागरिक तहबाट प्रतिवाद गर्न आह्वान गर्दै प्रधानमन्त्री तथा मन्त्रीहरूको सहभागिता रहने कार्यक्रमहरूको बहिस्कार गर्न आग्रह गरेका छन् । ‘सरकारको गलत निर्णयविरुद्ध सशक्त आवाज उठाउनु जरुरी छ । युवा साथीहरू, प्रतिरोधका लागि तयार रहनुस्,’ सेर्पालीले भने ।
उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गुरुयोजना, तत्कालीन उर्जामन्त्री जनार्दन शर्माको निर्णय र कुलमान घिसिङको इच्छाशक्तिले मात्र देश अन्धकारमुक्त भएको स्मरण गर्दै, योग्य व्यवस्थापकलाई हटाउनु अन्यायपूर्ण भएको उल्लेख गरे ।
