प्रचण्ड गगन र विश्वप्रकाशलाई ज्ञानेन्द्र शाहीको अर्ती !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका दुई महामन्त्री र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि कडा टिप्पणी गरेका छन् ।मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति टिप्पणी गरेका हुन् ।

उनले सत्तारुढ कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई उर्जामन्त्री दीपक खड्कालाई फिर्ता बोलाएर देखाउन चुनौती दिएका छन् । उनले लेखेका छन्, ‘यदि साँच्चै तपाईँहरू कुलमान घिसिङलाई पुनर्नियुक्ति चाहनु हुन्छ भने, उहाँलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुहोस् र कारबाही गर्नुहोस् । चाबी-ताला तपाईँहरूकै हातमा छ ।’ त्यस्तै, प्रचण्डलाई पनि उनले गोहीको जस्तो आँसु नझार्न सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘यदि साँच्चै कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न चाहनु हुन्छ भने, हिजो सिंहदरबारमा गोप्य रूपमा गरिएको टिआरसी विधेयक सम्झौता कांग्रेस र एमालेसँग तोड्नु होस् । होइन भने, हात्तीका दुई दाँत जस्तो देखाउने र चपाउने छुट्टाछुट्टै व्यवहार नगर्नुहोस् । गोहीको आँसु नझार्नुस् ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *