कुलमान बर्खास्तीको दोस्रो दिन ऊर्जामन्त्री खड्काको पुत्ला दहन


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको विरोधमा विभिन्न तहबाट चर्को असन्तुष्टि देखिएको छ । एकीकृत समाजवादी निकट युवा संघ, अनेरास्ववियू लगायतका जनसंगठनले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडि विरोध प्रदर्शन गर्दै सरकारको निर्णयको कठोर आलोचना गरेका छन् । प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै नाराबाजी गरेका थिए ।
यस निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) तथा राष्ट्रिय स्वतन्त्र पार्टीले कडा प्रतिक्रिया जनाएका छन् । प्रतिपक्षी दलहरूले घिसिङको कार्यकालमा मुलुकको ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको दाबी गर्दै उनको बर्खास्तीलाई सरकारको अदूरदर्शिता भनेका छन् । सत्तारूढ दल नेपाली कांग्रेसभित्र पनि यस निर्णयलाई लिएर गहिरो असन्तोष देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिकरूपमै सरकारको निर्णयको आलोचना गरेका छन् । उनीहरूले घिसिङ जस्ता सक्षम र इमानदार नेतृत्वलाई हटाउनु ऊर्जा क्षेत्रमा पछाडि फर्कने संकेत भएको टिप्पणी गरेका छन् ।
घिसिङलाई हटाउने निर्णयको विरोधमा केवल राजनीतिक दलहरू मात्र नभई सर्वसाधारण नागरिक पनि आन्दोलित भएका छन् । सामाजिक सञ्जालहरूमा सरकारको कदमलाई लिएर तीव्र आलोचना भइरहेका छन् । धेरैले घिसिङको कार्यकाललाई प्रशंसनीय मान्दै उनलाई हटाउनुको कारणप्रति गम्भीर प्रश्न उठाएका छन् । उनले नेपालको ऊर्जा क्षेत्रमा सुधार ल्याई लोडसेडिङ अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको व्यवस्थापन क्षमताका कारण प्राधिकरण नाफामा परिणत भएको थियो, जसले गर्दा उनले व्यापक जनसमर्थन पाएका थिए ।
विश्लेषकहरूका अनुसार घिसिङको हटाइने निर्णय सरकारभित्रको आन्तरिक मतभेदको संकेत हुन सक्छ । केही राजनीतिक व्यक्तित्वहरूले सरकारको यस कदमलाई असमझदारीपूर्ण तथा अनावश्यक विवाद सिर्जना गर्ने भन्दै आलोचना गरेका छन् । यस विषयमा सरकारको तर्फबाट आधिकारिक धारणा आएको छैन ।
ऊर्जा मन्त्रालयले घिसिङ हटाउनुको कारण स्पष्ट रूपमा सार्वजनिक नगरे पनि सरकार समर्थक पक्षहरूले यो कदमलाई स्वाभाविक प्रशासनिक प्रक्रिया भनेका छन् ।
