इजरायली सेनाद्वारा गाजामा २ प्यालेस्टिनी पत्रकारको हत्या


एजेन्सी । इजरायली सेनाले सोमवार गाजा पट्टीमा दुई छुट्टाछुट्टै आक्रमणमा दुई प्यालेस्टिनी पत्रकारको हत्या गरेको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।
प्यालेस्टाइन टुडेका संवाददाता मोहम्मद मन्सुर, दक्षिणी गाजाको खान युनिसमा रहेको उनको अपार्टमेन्टलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा उनकी श्रीमती र बच्चाहरूसहित मारिएका छन् ।
अर्को आक्रमणमा उत्तरी गाजाको जबालियाको पूर्वमा इजरायली हवाई आक्रमणमा अल जजीरा मुबाशेर च्यानलका संवाददाता होसम शबातको मृत्यु भएको स्रोतहरूले बताएका छन् ।
हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले एक विज्ञप्तिमा इजरायली कब्जाद्वारा पत्रकारहरूलाई लक्षित र हत्या गरिएको कडा शब्दमा निन्दा गरेको छ ।
अन्तर्राष्ट्रिय समुदायलाई गाजामा प्यालेस्टिनी पत्रकार र मिडिया पेशेवरहरू विरुद्धका यी व्यवस्थित अपराधहरूको निन्दा गर्न आह्वान गरेको छ । इजरायली सेनाले दुई आक्रमणहरूमा कुनै आधिकारिक टिप्पणी जारी गरेको छैन ।
मन्सुर र शबातको मृत्युसँगै अक्टोबर ७, २०२३ मा गाजा युद्ध शुरु भएदेखि मारिएका पत्रकारहरूको संख्या २०८ पुगेको छ ।
जनवरी १९ मा शुरु भएको हमाससँगको युद्धविराम रद्ध भएपछि इजरायलले मार्च १८ मा गाजामा पुनः आक्रमण शुरु गरेको छ ।
इजरायली सेनाले पछि दक्षिणी, उत्तरी र मध्य गाजामा जमिन कारबाही शुरु गरेको छ ।
पछिल्लो युद्धबाट मृत्यु हुनेको संख्या ७३० नाघेको छ । जसले गर्दा अक्टोबर २०२३ देखि मृतकको कुल संख्या ५० हजार ८२ पुगेको छ ।
