ग्लोबल मनी विकमा नबिल बैंकले गर्यो देशव्यापी कार्यक्रम, ४ हजारभन्दा बढी लाभान्वित

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’ मनाएको हो ।

यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फोलो, वाइज मनी टुमारो’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक सञ्चालन गरिएको थियो । यस अभियान अन्तर्गत नबिल बैंकले देशका सातै प्रदेशमा चार हजारभन्दा बढी विद्यार्थी र युवामाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले विद्यार्थी तथा युवाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गराउन तथा फाइनान्सियल इन्फ्लुएन्सर्सको लहलहैमा लागेर लगानी गर्न नहुनेबारे जानकारी दिन वित्तीय साक्षरता अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा सञ्चालन गरिएको कार्यक्रममा बचत, बजेट, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षालगायतका विषयमा जानकारी गराइएको बैंकले जनाएको छ ।

बैंकले सञ्चालन गरेको उक्त अभियानबाट कोशी प्रदेशका ७४४, मधेश प्रदेशका एक हजार ६३, बागमती प्रदेशका ४४१, गण्डकी प्रदेशका ४३४, लुम्बिनी प्रदेशका ५०६, कर्णाली प्रदेशका ४०५ र सुदूरपश्चिम प्रदेशका ४०७ विद्यार्थी तथा युवाहरू वित्तीय साक्षरता कक्षामा सहभागी भई लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।

नबिल बैंक लिमिटेडले वित्तीय साक्षरता विस्तार तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्ने उद्देश्यले वर्षभर नै विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । त्यस्तै सामाजिक उद्यमशीलता विकासका लागि बैंकले ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *