कुलमान बर्खास्ती प्रकरण : जनताको निशानामा ओली सरकार
‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको आठ महिना पुगेको छ । उनी गत असार ३० गते चौथो पटक देशको प्रधानमन्त्री बने ।
विकास,समृद्धि सुशासन,भ्रष्टाचार नियन्त्रणका साथै संविधान संसोधनलाई केन्द्रमा राखेर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार गठन भयो ।
गठन भएको छोटो समयमै ओली सरकार आलोचित बन्न पुगेको छ । राजनीतिक पूर्वाग्रह राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउदेखि आफ्नै सांसदलाई चोख्याउनेसम्मका काम गरिएको आरोप सरकारमाथि छ ।
जनतामा विकासको अनुभूति दिनुपर्नेमा त्यसो नगरी एकपछि अर्को अलोकप्रिय काम गर्न ओली सरकार तल्लीन देखिएको छ । यसको पछिल्लो उदाहरण हो,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्नु । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय गर्यो ।
कुलमान घिसिङ दोस्रो पटक २०७८ साउन २५ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । घिसिङको चार वर्षे कार्यकाल आगामी साउन २४ मा सकिँदै थियो । तर,कार्यकाल समाप्त हुनुअघि नै उनलाई सरकारले जिम्मेवारीबाट हटाइदियो ।
डेडिकेटेड र ट्रंक लाइनको विषयमा कुलमान र सरकारबीच टकराब बढेको थियो । विद्युत् उपभोग बाफतको बक्यौता तिर्न उद्योगीहरुले आनाकानी गरेपछि प्राधिकरणले उद्योगीहरुको लाइन नै काटेको थियो । तर,पछि प्रधानमन्त्री ओलीको निर्देशनमा पुन: उद्योगहरुमा लाइन जोडियो ।
ओली सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएन मात्रै उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त समेत गरेको छ । शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक भइसकेका हुन् ।
सरकार गठन भएदेखी नै उर्जा मन्त्री दिपक खड्का र प्रधानमन्त्री ओली घिसिङसंग सन्तुष्ट थिएनन् । उनलाई हटाउने प्रपञ्च अनुरुप नै सरकारले पटक-पटक घिसिङलाई स्पष्टीकरण सोध्दै समेत आएको थियो । सरकार गठन भएयता घिसिङलाई पाँच पटकसम्म स्पष्टीकरण सोधिएको थियो ।
पछिल्लो पटक मन्त्रिपरिषद् बैठकले नै घिसिङलाई स्पष्टीकरण सोध्न उर्जामन्त्रालयलाई भनेको थियो । सोही अनुरुप उर्जा मन्त्रालयले गत फागुन २२ मा घिसिङलाई तीन दिन भित्र जवाफ पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो । उनले बुझाएको स्पष्टीकरण चित्त नबुझेको भन्दै लामो प्रयासपश्चात् अन्ततः घिसिङ प्राधिकरणबाट हटाइए ।
घिसिङलाई हटाइएपछि सत्ता साझेदार दलभित्रै विरोध
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएपछि सत्ता साझेदार दलभित्रै विरोध भएको छ । नेपापली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले कुलमानलाई हटाउने सरकारको निर्णयको खुलेरै विरोध गरेका छन् ।
महामन्त्री थापाले उल्टो बाटो हिँडेर सही गन्तव्यमा पुग्न नसकिने बताएका छन् । आम नागरिकमा असन्तुष्टि बढ्दो रहेको बताउँदै उनले भने,‘आम नागरिकमा असन्तुष्टि बढ्दो छ।त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो। तर विडम्बना त्यो भएन,निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि घिसिङलाई पदबाट हटाएर गलत काम गरेको बताएका छन् । उनले भने,‘कार्वाही योग्य केही भए, पछिपनी गर्न मिल्थ्यो केही राम्रा प्रयास छायांमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । असन्तुष्टिलाई निराशाको भास्य बनाएर, प्रतिगमनको खेती गर्नेहरुलाई निरुत्साहित गर्नुपर्ने बेलामा सरकारले गलत निर्णय जो लियो, यसप्रती खुला र प्रष्ट रूपमा विमति छ ।’
यस्तै नेपाली कांग्रेसका नेता एवं सांसद डा.शेखर कोइरालाले पनि कुलमान हटाउने सरकारको निर्णयको विरोध गरेका छन् । कुलमानलाई हटाएको विषयको स्वामित्व कांग्रेसले लिन नहुने उनले बताए ।
उनले भने,‘सरकारको कुशासनको निरन्तरताको अर्को कडीः कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कतिदिन चल्ने र चलाउने ? विनाशकाले विपरित बुद्धी ।’
कुलमानलाई हटाएपछि नेकपा माओवादी केन्द्र लगायत प्रतिपक्षी दल आक्रोशित
सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि नेकपा माओवादी केन्द्र लगायत प्रतिपक्ष दल आक्रोशित भएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमानलाई हटाएर सरकारले गलत गरेको बताएका छन् । दुई तिहाई बहुमतको दम्भमा कुलमानलाई हटाउने निर्णयप्रति घोर निन्दा गरेका छन् ।
उनले भनेका छन्,‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ। प्राधिकरणको बाकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो । आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट सार्बजनिक भएको छ । आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु ।’
यस्तै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएका छन् । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
सापकोटाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो । यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास श्रृजना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ । कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई हाम्रो पार्टी खारेज गर्दछ । आमनागरिकमा भ्रम श्रृजना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न हामी कडा चेतावनी दिन चाहन्छौ । यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।’
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको बताएका छन् ।
‘विद्युत प्राधिकरणलाई वित्तीय सुदृढीकरणको बाटोमा लैजान प्रयासरत राष्ट्रसेवकलाई बक्यौता रकम उठाउन नदिने हेतु सरकारका तर्फबाट भए गरेका दुष्प्रयास र बिचौलियाहरुको संरक्षणको श्रृंखला अन्तर्गत नै घिसिङमाथि कारवाही गरिएको रास्वपाको निष्कर्ष छ । संविधानले नचिन्ने दुई दलीय संयन्त्रसमेतको सम्मतिमा गरिएका यस्ता जनविरोधी कदमहरुबाट देशमा केही गरौं भन्ने आम युवा र सचेत नागरिक पूर्णतः निरुत्साहित भएको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ,‘कार्यवाहक महामन्त्री बुर्लाकोटीद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ,यसर्थ भ्रष्टाचारी जोगाउने र बिचौलिया पोस्ने जगमा बनेको यस सरकारको विरोधमा गरिने शान्तिपूर्ण कार्यक्रमहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व, सहभागिता एवं ऐक्यबद्धता हुनेछ ।’
रास्वपा सभापति रवि लामिछानेले कसलाई राख्ने कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिने बताएका छन् । कुलमानलाई हटाएपछि सोमबार लामिछानेले लाइभ भिडिओमा कुनै शब्द उच्चारण नगरी सरकारको विरोध गरेका छन् ।
कुलमानलाई हटाएपछि प्रधानमन्त्री : लोडसेडिङ अन्त्य वर्षौं लगाएर गरिएको काम हो, कसैले चमत्कार र जादु गरेको होइन
प्रधानमन्त्री केपी शर्मा ओलीले लोडसेडिङ वर्षौं लगाएर अन्त्य गरिएको बताएका छन् । कुलमान घिसिङतर्फ लक्षित गर्दै उनले कसैले चमत्कार र जादु नगरेको बताए ।
उनले पहिलो ४ वर्षमा कति उज्यालो आएको थियो र पछिल्लो पटक नियुक्ति गर्ने बित्तिकै उज्यालो आएको हो ? भन्दै प्रश्न गरे । वर्षौँ लगाएर गरेको मेहनतलाई जादु र चमत्कार भनेर प्रचार नगर्न पनि पनि उनले आग्रह गरे ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक म र मेरो सानोबुबा आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको समेत बताए । उनले इस्यु पायौँ भन्ने हिसाबले केही समूहरुहरुले विरोध सुरु गरिसकेको बताए । आफूले आइडोलोजी नभई देशप्रतिको निष्ठा हेर्ने गरेको र देश सबैको साझा भएको बताए ।
सरकारले अलोकप्रिय काम गर्यो : डा.राजेन्द्र चापागाईं
सरकारले थप अर्को अलोकप्रिय काम गरेको राजनीतिक विश्लेषक डा.राजेन्द्र चापागाईंले बताएका छन् । उज्यालोको नायकका रुपमा रहेका कुलमान घिसिङलाई सरकारले हटाएर गलत काम गरेको बताएका छन् ।
कुलमानलाई हटाएर सरकारले आफ्नो छवि धमिल्याउने काम भएको उनले बताए । सरकार गठन भएसकेपश्चात् उर्जामन्त्री दिपक खड्का कुलमान घिसिङमाथि केन्द्रित भएको उनी बताउँछन् ।
कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेजस्तै उर्जामन्त्री खड्काले आफ्नो कार्यालय समेत विद्युत् प्राधिकरणमा राखेको उनी बताउँछन् । कुलमानको हात खुट्टा बाँध्ने किसिमले उर्जामन्त्री लागेको कुरा जगजायर रहेको उनी बताउँछन् ।
कुलमानमाथि उर्जामन्त्रीले ज्यादती गरिरहँदा नेपाली कांग्रेस समेत रमिते भएको उनले बताए । सरकार गठन भएको आठ महिनासम्ममा पनि कुनै काम गर्न नसकेको ओली सरकारको आलोचना बढ्दै गइरहेको उनी बताउँछन् । देशमा आन्दोलन भइरहेको बेला कुलमानलाई हटाइएको उनी बताउँछन् ।
संक्रमणकालीन न्याय(टीआरसी) संग कुलमान साँटिएको हुनसक्ने समेत उनी बताउँछन् । नेकपा माओवादी केन्द्रले टीआरसीसंग सम्झौता गरेर कुलमान घिसिङलाई बलिको बोको बनाउन खोजेको समेत उनले बताए ।
कुलमानको पक्षमा सडकमा ओर्लिए जनता
सरकारले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएसंगै हजारौँको संख्यामा जनता सडकमा ओर्लिएका छन् । मंगलबार काठमाडौं लगायत ठाउँहरुमा कुलमानको पक्ष लिँदै सरकारको कडा आलोचना गरिएको छ । उर्जा मन्त्री दिपक खड्काको फोटो समेत जलाइएको छ । लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।
सडकमा ओर्लिएका नागरिकहरुले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘उज्यालो नेपाल जिन्दावाद, अँध्यारो सरकार मुर्दावाद’ ‘हामी जनता हेरेको हेर्यै सरकार जान्ने भो धेरै’ भन्ने जस्ता नारा लगाएर सरकारको विरोध गरिएको हो ।
न्यायका लागि अदालत जान्छु : कुलमान घिसिङ
यता कुलमान घिसिङ भने अदालत जाने तयारीमा छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा पत्र प्राप्त भएपछि उनी न्यायका लागि अदालत जाने भएका हुन् । उनले राम्रो काम गरिरहेकै समयमा विना कारण सरकारले आफुलाई हटाएको बताएका छन् ।