पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प

झापा । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्याङ्की स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताए ।

ती ट्रकहरू दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिए ।

बिआइएस भारत सरकारको गुणस्तर प्रमाणपत्र हो । भारतले आयात हुने सामान बिआइएस प्रमाणित हुनुपर्ने नयाँ नियम लगाएपछि नेपालबाट प्लाइउड, सिमेन्टलगायत उत्पादनहरूको निर्यात अवरुद्ध भएको छ ।

काँकडभिट्टा मात्र नभई नेपालका अरु नाकाबाट भारत निर्यात हुने प्लाइउडमा पनि भारतले अवरोध पुर्‍याइरहेको छ ।

‘नेपालबाट प्लाइउड बोकेर भारत गएका ती ट्रकहरू पानीट्याङ्कीस्थित भारतीय भन्सारमा रोकिएका छन्’, अध्यक्ष प्रसाईंले भने, ‘न जान दिएको छ, न स्वदेश नै फर्काउन सकिने अवस्था छ ।’

भारतीय भन्सारले तत्काल नेपाल नफर्काए सामान जफत गरिदिने चेतावनी दिइरहेको प्रसाईंले बताए । नेपाली पक्षले ती सामान निर्यातका लागि भारत सरकारलाई जिएसटी करसमेत तिरिसकेको जनाएका छन् ।

नेपालमा ८० वटा प्लाई उद्योग स्थापना भएका छन् । एउटा उद्योग स्थापनाका लागि न्यूनतम २५ करोड लगानी हुने उद्योगीहरू बताउँछन् ।

नाकामा भारतीय पक्षबाट भइरहेको अवरोध नहटे प्लाइउड उद्योगमा भएको अर्बौं लगानी जोखिममा पर्ने र हजारौँले रोजगारी गुमाउने जनाइएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट सात अर्ब ४३ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो । आव २०७९/८० मा चार अर्ब ७० करोड र आव २०७८/७९ मा ३५ करोड मूल्य बराबरको प्लाइउड भारत निर्यात भएको थियो ।

मेची उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष ऋषि तिम्सिनाले भारतले नेपालबाट सबैभन्दा धेरै निर्यात हुने सिमेन्ट र प्लाइउडमा भन्सार अवरोध हुँदा मुलुकलाई ठूलो आर्थिक क्षति पुगिरहेको बताए ।

प्लाइउड नेपाली कच्चा पदार्थमा आधारित र व्यापार घाटा न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने निर्यात वस्तु भएकाले यसको निर्वाध निर्यातको वातावरण बनाउन सरकारले भारत सरकारसँग उच्चस्तरीय सहमति बनाउनुपर्ने तिम्सिनाको सुझाव छ ।

भारतीय भन्सार अवरोध नहटेपछि प्लाइउड उद्योगले कामदारहरूको काम गर्ने अवधि कटौती गर्न थालेका छन् । तिम्सिनाका अनुसार विगतमा २४ घण्टा चल्ने प्लाइउड कारखानाहरू हाल मुस्किलले आठ घण्टा सञ्चालन भइरहेका छन् ।

प्लाइउडको निर्यात अवरोध हटाउन माग गर्दै मेची उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घलाई समाधानका लागि पहल गरिदिन पत्राचार गरेको छ ।

महासङ्घले नेपाल सरकार, परराष्ट्रमन्त्री र भारतीय राजदूतावाससँग कुराकानी गरिरहेको सङ्घका अध्यक्ष प्रसाईंले बताए ।

‘प्लाइउड निर्यात कुनै हालतमा रोकिनु हुँदैन भनेका छौँ’, प्रसाईंले भने, ‘नेपाली उद्योगले बिआइएसका लागि आवेदन भरेको एक वर्ष भइसक्यो । अहिलेसम्म न प्रमाणपत्र दिएको छ, न भन्सार खुला गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *