राप्रपाले घोषणा गर्याे अलग्गै आन्दोलन, सुवेदी र प्रसाईं पनि भएनन् एकजुट


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरिरहेकै बेला राप्रपाले छुट्टै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
राप्रपाले चैत २६ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको आन्दोलन मूल समितिको बैठकले उक्त निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । वैशाख ७ गतेबाट राजधानी केन्द्रित निरन्तर आन्दोलन सञ्चालन गर्ने योजना छ । ‘चैत २६ गते बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभा आयोजना गर्नेछौं र वैशाख ७ गतेबाट राजधानी केन्द्रित कार्यक्रम अघि बढाइनेछ,’ अध्यक्ष लिङ्देनले भने ।
उनले राजसंस्था पुनःस्थापनाको पक्षमा र संघीयताविरोधी आन्दोलनहरूलाई राप्रपाले समर्थन गर्ने स्पष्ट पारेका छन् । ‘राजसंस्था र हिन्दू राष्ट्र स्थापनाको पक्षमा गरिने कुनै पनि शान्तिपूर्ण आन्दोलनमा हामी समर्थन जनाउनेछौं,’ उनले थपे । आन्दोलनका लागि अन्य पक्षहरूसँग सहकार्य गर्न पनि राप्रपाले ढोका खुला राखेको छ ।
यसअघि अन्य समूहहरूले गर्ने आन्दोलनमा सहभागी नहुने बताएको राप्रपाले अहिले आएर आफ्नो नीति परिवर्तन गरेको देखिन्छ । चैत १५ गते गणतन्त्र समर्थक र राजसंस्था पक्षधरहरू आ–आफ्ना शक्ति प्रदर्शनमा उत्रिने तयारीमा छन् । गणतन्त्र समर्थक समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्न स्थानीय प्रशासनसँग अनुमति लिइसकेको छ भने प्रसाईं नेतृत्वको समूहले तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने योजना बनाएको छ । यद्यपि, प्रशासनले प्रदर्शन स्थलबारे अन्तिम निर्णय गरिनसकेको जनाइएको छ ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले संयुक्त रूपमा प्रदर्शन गर्ने कार्यक्रम बनाएका छन् । उता, नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघीयता विरोधी समूहहरूलाई आन्दोलनमा सहभागिता जनाउन आह्वान गरेको छ ।
संयोजक सुवेदीले नेपाल अहिले विशेष राजनीतिक संक्रमणकालबाट गुज्रिरहेको दाबी गर्दै, राजसंस्थावादी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । राजधानी केन्द्रित हुने प्रदर्शनहरूमा संयुक्त जनआन्दोलन समितिले पूर्ण साथ, सहयोग र समर्थन गर्ने उनको भनाई छ ।
