मनोज ज्ञवाली नबिल बैंकको कायमुकायम सीईओ नियुक्त

काठमाडौं । नबिल बैंकले वरिष्ठ डेपुटी सीईओ मनोज ज्ञवालीलाई कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को रूपमा नियुक्त गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई कायमुकायम सीईओको जिम्मेवारी सुम्पिएको हो ।

बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलका अनुसार सञ्चालक समितिले ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी दिएको जानकारी दिए । ज्ञवालीले २०७७ सालमा ज्योति विकास बैंकको सीईओ पदबाट राजीनामा दिएर नबिल बैंकमा डिपुटी जनरल म्यानेजर (डीजीएम) का रूपमा काम सुरु गरेका थिए । चार वर्षको अवधिमा उनले नायब महाप्रबन्धक, महाप्रबन्धक, डेपुटी सीईओ हुँदै वरिष्ठ डेपुटी सीईओको पद प्राप्त गरेका थिए ।

गत पुसमा मात्र डेपुटी सीईओमा बढुवा भएका ज्ञवाली बैंक सञ्चालक समिति तथा सेयरधनीहरूसँग राम्रो समन्वय गर्ने क्षमतावान् र स्पष्ट वक्ता व्यक्तित्वको रूपमा चिनिन्छन् । बैंकभित्र उनलाई स्थायी सीईओ बनाउनका लागि बाटो खुला गरिएको चर्चा समेत छ । ज्ञवाली युवामाझ लोकप्रिय छन् र उनले पूर्व सीईओ अनिल केशरी शाहको नेतृत्वशैलीलाई पछ्याइरहेका छन् । बैंकभित्र उनको कार्यशैलीको प्रशंसा हुँदै आएको छ ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ज्ञवालीसँग नेपाल राष्ट्र बैंकमा काम गरेको अनुभवसमेत छ । यसअघि, नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएका थिए । कम्पनी सचिव पौडेलका अनुसार, ढुंगानाको राजीनामा सञ्चालक समितिले चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *