प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझे मात्रै हाउस चल्छ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि पुनः जालझेल भएको बताएका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रुपमा लिनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरू टुंग्याएर आफू सिंहदरबारबाट निस्किए लगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए ।

आफू सिंहदरबारबाट निस्किए लगत्तै मन्त्रीपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उनको भनाइ छ ।

उनले भने ‘प्रधानमन्त्रीले आएर रोष्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ । यो पटक पनि बढा चिन्तित र दुःखित छु । टिआरसीको लागि भनेर प्रधानमन्त्रीले खबर गर्नुभयो । कुलमानजीको विषयमा अब महिनापछि समय सकिँदैछ, कुलमानजीकै पक्षमा जनमत छ, अपमानित गर्नु हुँदैन, पुरस्कृत गर्नुपर्ने मान्छेलाई । टिआरसीको विषयमा मात्रै कुराकानी भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिँडे । त्यो बाहेक केही एक शब्द उच्चारण गरेको होइन । तर म निक्लिने बित्तिकै मन्त्रीपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस मलाई भयो । एक दुई दिन पर्खिएको भए पनि हुन्थ्यो । म सिंहदरबार गएर टिआरसी टुंग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाही लगायतले भने प्रचण्डले टिआरसीसँग कुलमान साट्यो । यो भन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुनसक्छ । सत्यको पक्षमा बोली दिनुहोला ।’

अध्यक्ष दाहालले उक्त कुराले आफूलाई पुनः स्वर्ग र नर्क सम्झाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *