अनुचित मूल्य वृद्धि गर्नेमाथि कानुनी कारबाही हुन्छ : महानिर्देशक दाहाल

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बजारमा बिना लेबलका उत्पादनहरू खुलम खुला विक्री वितरण भइरहेको भेटिएको बताएका छन् ।

बुधवार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनविरुद्ध हुने गरी बिना लेबलका उत्पादन बजारमा विक्री वितरण भइरहेको पाइएको बताए । उनले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताए ।

उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उनको भनाइ छ । उनले उत्पादनमा अधिकतम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रुपमा लेख्नुपर्ने कानुनी व्यवस्था विपरीत उत्पादक र व्यवसायीले कानुनको बर्खिलाप गरेको बताए । उनले विना लेबलका सिमेन्ट र डन्डी विक्री गर्ने केही डिलरलाई विक्री वितरणमा रोक लगाइएको बताए ।

उनले भने ‘हाल बजारमा सिमेन्ट र डन्डी लगायतका केही वस्तुहरूमा अत्यधिक मूल्य वृद्धि भएको विषयमा सिमेन्ट र डन्डी उत्पादक तथा व्यवसायी एवं तिनीहरुका उत्पादक संघसँग छलफल र अन्तरक्रिया गरिएको र उनीहरूलाई मूल्य वृद्धिको कारण औचित्य पुष्टि गर्न निर्देशन दिइएको छ । केही सिमेन्ट र डन्डीका डिलरहरूलाई विक्री वितरणमा रोक पनि लगाइएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ को उपदफा ३ बमोजिम उत्पादकले आफूले उत्पादन गरेको वस्तुमा लेबलमा उल्लेख गर्नुपर्ने कुराहरू सर्वसाधारणले बुझ्ने गरी नेपालभित्र उत्पादन भएका वस्तुहरू भए उत्पादकले र पैठारी गरिएको बस्तुहरू भए पैठारीकर्ताले नेपाली वा अङ्ग्रेजी भाषामा अधिकतम खुद्रा बिक्री मूल्य समेत लेख्नुपर्ने सो बाहेक अन्य वस्तुहरू विक्री वितरण गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । उपभोक्ता संरक्षण ऐन २०७५ र अन्य प्रचलित कानुनको बर्खिलाप गरी केही उत्पादकहरूले विना लेबलका उत्पादन बजारमा खुल्ला बिक्री वितरण गरेको विभागको अनुगमनबाट पाइएको छ ।’

महानिर्देशक दाहालले कानुनको भावना र मर्मविपरित हुनेगरी विना लेबलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गरे । उनले बिना लेबलका वस्तु बजारमा भेटिए कानुनी कारबाही गर्ने चेतावनी दिए ।

उनले भने ‘उल्लेखित ऐनको भावना र मर्मविपरित अब उप्रान्त कुनैपनि स्वदेशी उत्पादक र पैठारीकर्ताले लेबलमा उत्पादनको नाम र ठेगाना, दर्ता नम्बर, उत्पादन मिति, उपभोक्ता गरिसक्नुपर्ने मिति, अधिकतम खुद्रा मूल्य, परिणाम, तौल, गुणस्तर उल्लिखित विवरण र सोमा हुनुपर्ने विवरणहरू उल्लेख गरी बिक्री वितरण गर्नु हुन अनुरोध गरिन्छ । साथै विना लेबलका वस्तुहरू बजारमा बिक्री वितरण गर्न राखिएमा प्रचलित कानुन बमोजिम सजाय हुने ब्यहोरा सम्पूर्ण सरोकारवालाहरूलाई जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

महानिर्देशक दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताए । उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्य वृद्धि गरेको भेटिए कानुन अनुसार कारबाही हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *