नयाँ दलहरूलाई प्रधानमन्त्रीको प्रश्न- विध्वंस मच्चाएर थाकेकाहरूको पसिना पुछ्न किन जानुपर्यो ?


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन् ।
बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको पनि बताए । उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्त्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे ।
नयाँ राजनीतिक दलहरूलाई सामन्तवादी प्रणाली पुनः स्थापित गर्नेहरूको पक्षपोषणमा लागेको आरोप लगाए ।
उनले भने ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दैछन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ । ती हतियार उठेर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएर, कति मान्छे मारेर, विध्वंस मच्चाएर थाकेका, थकित तत्त्वहरूको पसिना पुछ्न किन जानुपर्यो ? आफूलाई नयाँ शक्ति भन्छन्, पार्टीहरूले गरेनन्, ७० वर्षको बुढो भयो अरे नेता, ८८ वर्षका खोज्न जान्छन् । सबैभन्दा थोत्रो, सामन्तवादी प्रणाली पुनः स्थापित गर्छु भन्छन्, नयाँ भनेर उच्चारण गर्दछन् । नयाँ । राजतन्त्र नयाँ हुन्छ । यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने यो भएन, त्यो भएन भन्ने । मुखिया तन्त्रमा फर्किन खोज्ने । राजतन्त्र भनेको मुखियातन्त्र हो ।’
प्रधानमन्त्री ओलीले आफूहरू धैर्यतापूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।
