चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित


काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले चितवनमा निर्मित भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्ती नगरपालिकाका १६ हजार २४४ जना प्रत्यक्ष लाभान्वित हुने बताएका छन् ।
बुधबार खानेपानी आयोजना उद्घाटन समारोहमा मन्त्री यादवले विगतमा स्वच्छ खानेपानी अभाव हुँदा यहाँका नागरिकले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आजदेखि खानेपानीको समस्या समाधान भएको बताए ।
उनले भने,“यो आयोजना आर्थिक वर्ष २०७७/७८ मा सङ्घीय सरकारअन्तर्गत खानेपानी मन्त्रालयले सञ्चालनमा ल्याएको हो । यसले राप्ती–४, ५, र ६ वडालाई सेवा प्रदान गर्नेछ । यस योजनाबाट तीन हजार २०० धुरीका १६ हजार २४४ जनालाई प्रत्यक्ष लाभ पुग्नेछ ।”
मन्त्री यादवले भने,“यसअघि स्वच्छ पानीको अभावका कारण यहाँका बासिन्दाको दैनिकी कष्टकर थियो । आजको दिनले राप्ती क्षेत्रका नागरिकको नयाँ युगको सुरूवात गरेको छ ।”
सङ्घीय सरकार, उपभोक्ता समिति, स्थानीय समुदायको साझा प्रतिबद्धता सहकार्य र परिश्रमले आज यो महत्त्वपूर्ण योजना सफल भएको उनको भनाइ छ ।
मन्त्री यादवका अनुसार भण्डारा दोस्रो खानेपानी आयोजनाले राप्ती–४, ५, र ६ का बासिन्दालाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउनेछ । विगतमा स्थानीयले इनार र ट्युबेलको पानी उपभोग गर्न बाध्य रहेका जनाउँदै उहाँले उक्त पानी परीक्षण गर्दा हानिकारक जीवाणुयुक्त पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने अवस्था अब अन्त्य भएको बताए । यो योजना सम्पन्न भई सञ्चालनमा आएसँगै यहाँ २४ सै घण्टा स्वच्छ, शुद्ध र सुरक्षित खानेपानी उपलब्ध हुने उनले विश्वास व्यक्त गरे ।
उनले भने,“भण्डारा माध्यमिक विद्यालय तथा राप्ती नगरपालिकाले उपलब्ध गराएको जग्गामा आवश्यक पूर्वाधार निर्माण गरिएको छ । यस क्षेत्रका जनताले अबदेखि २४ सै घण्टा स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् ।”
नेपालको संविधानले सुरक्षित र स्वच्छ खानेपानीलाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा परिभाषित गरेको उल्लेख गर्दै उनले सरकार, खानेपानी मन्त्रालय, तथा सरोकार भएका निकाय प्रत्येक नागरिकलाई गुणस्तरीय खानेपानी सेवा प्रवाह गर्न प्रयत्नशील रहेको जानकारी गराए।
सरकारको दीर्घकालीन लक्ष्य ‘सबैका लागि स्वच्छ खानेपानी’ भन्ने प्रतिबद्धतासँग खानेपानी मन्त्रालय विकास साझेदार, दातृ निकाय तथा स्थानीय तहसँग समन्वय गरी गर्दै अघि बढिरहेको मन्त्री यादवले जानकारी दिए ।
सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्यलाई थप सशक्त बनाउने पहल भइरहेको उल्लेख गर्दै उहाँले यस्ता आयोजना प्रभावकारी कार्यान्वयन गर्न नवीन तथा प्रविधिमैत्री उपाय अवलम्बन गरिने बताए ।
उक्त आयोजना रू नौ करोड ९१ लाख २५ हजार ५९ मा सम्झौता गरिएकामा रू नौ करोड ८६ लाख ७८ हजार दुई सय ८८ खर्च भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुरले जनाएको छ ।
आजको कार्यक्रममा सङ्घीय सांसद हरि ढकाल, प्रदेश सांसद एवं पूर्वमन्त्री जेएन थपलिया, पूर्वमन्त्री दावा लामा, राप्ती नगरपालिकाका नगरप्रमुख शमशेर लामा, नगरउपप्रमुख देवेन्द्र लामा, प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठलगायत कर्मचारी र स्थानीयको उपस्थिति थियो ।
