पहिलो फिल्म भन्दा दोस्रो अझै चुनौतीपूर्ण भयो : समीर भट्ट


काठमाडौँ । अभिनेता समीर भट्टले आफ्नो पहिलो फिल्म भन्दा दोस्रो फिल्म अझै चुनौतीपूर्ण भएको बताएका छन् ।
उनले भीएफवाई टक्ससंग अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् ।
फिल्म ‘१२ गाउँ’ बाट चर्चामा आएका भट्टलाई पहिलो फिल्मबाटै दर्शकहरूले खुब रुचाएका छन् । यससँगै उनले निर्देशक सन्तोष सेनको निर्देशनमा बनेको अर्को चलचित्र बलिदानमा समेत अभिनय गरेका छन् ।
अन्तर्वार्तामा अभिनेता भट्टले फिल्म क्षेत्रमा अगाडी बढ्नुको श्रेय आफ्नो परिवारलाई र विशेषगरि बुवा बिराज भट्टलाई दिएका छन् । उनले पहिलो फिल्म भन्दा दोस्रो फिल्ममा धेरै चुनौतीपूर्ण रहेको बताए ।
उनले भने ‘ मेरो बुबा अभिनेता हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ । म उहाँकै काम हेरेर हुर्किए अनि म त्यसैबाट उत्प्रेरित भए । म उहाँको फिल्महरू थिएटरमा अझै हेर्ने गर्छु । अभिनेताको छोरा हुँदा मलाई पनि अभिनेता नै हुने इच्छा लाग्यो । जब म थिएटरमा बुबाको सिनेमा हेर्न जान्थे फ्यानहरूले त्यस बेला दिएको माया र आशीर्वाद देख्दा म धेरै प्रेरित हुन्थे । मलाई पनि अभिनय गर्ने धेरै इच्छा थियो ।’
उनले आफू सानो हुँदा पढाइमा धेरै अब्बल नभएको बताए । सानैदेखि बुबा भट्टले पनि आफूलाई अभिनेता नै बनाउने इच्छा राखेको उनले बताए ।
उनले आफ्नो पहिलो फिल्म भन्दा दोस्रो फिल्मबाट दर्शकले अझै धेरै आस राखेको बताए ।
उनले दर्शकहरूको मन जित्नकै लागि भएपनि दोस्रो चलचित्रलाई अझ राम्रो बनाउनु चुनौतीपूर्ण रहेको सुनाए ।
‘मेरो लागि पहिलो फिल्म भन्दा दोस्रो फिल्म धेरै चुनौती पूर्ण भएको थियो । किनभने मलाई दोस्रो फिल्म अझै राम्रो पनि बनाउनु थियो । फेरि दर्शकहरूको मन पनि जित्नु थियो ।’
उनले आफूलाई एक्सन फिल्म धेरै मन पर्ने बताउँदै र आगामी दिनमा पनि एक्सन फिल्ममै काम गर्न मन रहेको सुनाए । उनले दर्शकहरूबाट आएका नकरात्मक टिप्पणीहरूले अझै काम गर्न उत्प्रेरणा मिल्ने बताए ।
व्यक्तिगत कुराहरूमा गरिएको नकरात्मक टिप्पणी बारेमा भने उनले वास्ता नगर्ने सुनाए ।
उनले फ्यानहरू आफूसँग फोटो खिच्न आउँदा खुसिलाग्ने बताए ।
समीर भट्ट अभिनीत फिल्म ‘बलिदान’ वि.सं २०८२ सालको फूलपाती (असोज १३) मा रिलिज हुदैँछ । फिल्ममा समीरका साथमा अनुभवी कलाकारहरू सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
फिल्म आसुसेन फिल्म्स प्रालीको प्रस्तुति हो । यसका निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन् ।
