वनमन्त्री ठकुरी जर्मनीमा भेटवार्तामा ‘व्यस्त’


काठमाडौं । जर्मनीको भ्रमणमा रहेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विभिन्न उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
बर्लिनमा आयोजित पिटर्सवर्ग जलवायु संवादमा सहभागी हुन त्यहाँ पुगेका उनले सो अवसरमा बुधबार जर्मनीका सङ्घीय विदेशमन्त्री अन्नालेना बेयरबोक, ब्राजिलका कोप-३० का प्रमुख आन्द्रे कोर्रिया दो लागो, संयुक्त राष्ट्रङ्घका महासचिवका जलवायु विशेष सल्लाहकार सेल्विन हार्ट, संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सचिवालयका कार्यकारी प्रमुख साइमन स्टिल, साथै, चिली र संयुक्त अधिराज्यका प्रतिनिधिहरूसँग पनि भेटवार्ता गरेका थिए ।
भेट्मा उनले नेपालका जलवायु परिवर्तनसम्बन्धी प्राथमिकताबारे छलफल गर्नुका साथै सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गर्नुभएको मन्त्री शाहीको सचिवालयले जनाएको छ ।
पिटर्सवर्ग संवादमा सहभागी हुन मन्त्री शाही यही चैत १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विगत १४ वर्षदेखि जर्मनी सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।
जलवायु वार्तामा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलो पटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी भएका हुन् ।
