खबर दिनभर : प्रधानमन्त्रीविरुद्ध जथावाभाी बोल्न‘बन्देज’, प्रचण्डले संसद चल्न नदिने, कुलमान सर्वोच्चमा


प्रतिपक्षीलाई ओलीको चेतावनी – प्रधानमन्त्रीका सम्बन्धमा जथाभाबी नबोल्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभाबी नबोल्न प्रतिपक्ष दलका नेताहरूलाई चेतावनी दिएका छन् ।
बुधवार काठमाडौंमा युवा संघको स्वयं सेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रतिपक्ष दलहरूलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न आग्रह गरे । उनले प्रतिपक्ष दलहरूको सबै पृष्ठभूमिबारे जानकार रहेको भन्दै के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो भन्नेकुरा देखिएको टिप्पणी गरे ।
कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो संसदलाई बनाइरहेको भन्दा टिप्पणी गरे ।
यस्ता किसिमका क्रियाकलापहरू नगर्दा राम्रो हुने बताए ।
उनले भने ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईँहरू । र प्रधानमन्त्रीको सम्बन्धमा जथाभाबी पनि नबोल्नुस् । थाहा छ तपाईँहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो । त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो बनाउनुहुन्छ, संसदलाई । त्यो हामीले बुझेका छौँ । यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ । केके न ठूलो अपराध गरेको जस्तो । मैले यस्तो कुरा थाहा पाएँ, सुनेँ, यो कुरा गलत होस्, असत्य होस् । मैले सुनेको असत्य होस् । वाह, कुनै महान् ठूलो कुरा गरेको जस्तो । कसैले केके न ठूलो भ्रष्टाचार गरेको जस्तो । यो असत्य होस् । होइन रहेछ भने, नत्र । म भन्दिन चाहन्छु, चिसै पानीले नुहाउनुस् ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको स्ट्याटसप्रति लक्षित गर्दै ठुलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरू लेखेको देख्दा आश्चर्य लागेको बताए ।
प्रधानमन्त्रीको स्पष्टीकरण चित्त बुझे मात्रै हाउस चल्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि पुनः जालझेल भएको बताएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीले संसदमा आएर कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको चित्तबुझ्दो जवाफ नदिएसम्म संसद अघि बढ्न नसक्ने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई सहज रुपमा लिनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कुराहरू टुंग्याएर आफू सिंहदरबारबाट निस्किए लगत्तै कुलमानलाई हटाउने निर्णय गर्नुले आफू दुःखित र चिन्तित भएको बताए ।
आफू सिंहदरबारबाट निस्किए लगत्तै मन्त्रीपरिषद् बैठक बोलाएर हटाउनु नहुने र केही दिन पर्खिएको भए हुने उनको भनाइ छ ।
उनले भने ‘प्रधानमन्त्रीले आएर रोष्टममा जवाफ नदिएसम्म हाउस चल्न सक्दैन । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ । उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्त बुझ्दो भयो तुरुन्तै हाउस चल्छ, जालझेलको भयो भने आन्दोलन अघि बढ्छ । यो पटक पनि बढा चिन्तित र दुःखित छु । टिआरसीको लागि भनेर प्रधानमन्त्रीले खबर गर्नुभयो । कुलमानजीको विषयमा अब महिनापछि समय सकिँदैछ, कुलमानजीकै पक्षमा जनमत छ, अपमानित गर्नु हुँदैन, पुरस्कृत गर्नुपर्ने मान्छेलाई । टिआरसीको विषयमा मात्रै कुराकानी भयो । त्यसमा समझदारी बनेपछि म उठेर हिँडे । त्यो बाहेक केही एक शब्द उच्चारण गरेको होइन । तर म निक्लिने बित्तिकै मन्त्रीपरिषद्को बैठक बसेर त्यही विषयमा निर्णय गरियो र मलाई के लाग्यो भने फेरि एक पटक निकै ठूलो जालझेल भएको महसुस मलाई भयो । एक दुई दिन पर्खिएको भए पनि हुन्थ्यो । म सिंहदरबार गएर टिआरसी टुंग्याएको लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । त्यही दिन नै राप्रपाको ज्ञानेन्द्र शाही लगायतले भने प्रचण्डले टिआरसीसँग कुलमान साट्यो । यो भन्दा झुटो, बेइमानीपूर्ण प्रचार केही हुनसक्छ । सत्यको पक्षमा बोली दिनुहोला ।’
अध्यक्ष दाहालले उक्त कुराले आफूलाई पुनः स्वर्ग र नर्क सम्झाएको बताए ।
विद्युत् प्राधिकरणबाट हटाइएपछि सर्वोच्च पुगे कुलमान
सरकारले नेपाल विदुत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि कुलमान घिसिङ न्यायका लागि सर्वोच्च अदालत पुगेका छन् । गैरकानुनी रुपमा पदमुक्त गरिएको दाबी गर्दै उनी बुधबार सर्वोच्च अदालत पुगेका हुन् ।
उनले सरकारको निर्णय बदर गर्नका साथै आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने माग सहित उनी सर्वोच्च पुगेका हुन् । नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई उनले विपक्षी बनाउँदै सर्वोच्च रिट निवेदन दिएका छन् ।
सरकारले गत सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।
वि।सं।२०७८ साउन २५ मा दोस्रो पटक विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको चार वर्षे कार्यकाल आगामी साउन २४ मा सकिँदै थियो ।
सेवासुविधा माग्न सर्वोच्च पुगे हितेन्द्रदेव
नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य सेवा सुविधा माग गर्दै सर्वोच्च पुगेका छन् । उनले बुधबार पेश गरेको आफ्नो रिटमा अघिल्लो रिक्त कार्यकालको सेवासुविधा माग गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै तत्कालीन सरकारले शाक्यलाई २०७७ माघ २७ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । पछि प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि उनको ठाउँमा कुलमान घिसिङको नियुक्ति गरिएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर फेरी हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि कुलमान पनि पुनस्थापनाको माग सहित आज सर्वोच्च पुगेका छन् ।
किन हालियो सात प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्चमा रिट ?
सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । बुधबार अधिवक्ता चन्द्रप्रकाश भुसालले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
दोहोरो सुविधा प्रदान गरी आर्थिक अनुशासनको गम्भीर उल्लंघन गरेको भन्दै केन्द्र र प्रदेश गरी सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखविरूद्ध रिट निवेदन दर्ता गरिएको अधिवक्ता भुसालले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ फिर्ता लिन माग गर्दै प्रदर्शन
नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक , २०८१ फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन भएको छ ।
बुधवार काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालय अगाडि आधिकारिक ट्रेड युनियन, नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ तत्काल फिर्ता गर्न माग गरेका छन् ।
हवाई क्षेत्रमाथि निजीकरण हुन लागेको भन्दै हवाई क्षेत्र निजीकरण तत्काल बन्द हुनुपर्ने माग रहेको छ ।
प्रदर्शनकारीहरूले हवाई माफियाहरू होसियार,नागरिक उड्डयन प्राधिकरण विभाजन गर्ने राष्ट्रघाती विधेयक फिर्ता गर, हवाई क्षेत्रमाथि हुन लागेको निजीकरण बन्द गर, विधेयकमाथि विधेयक लाद्ने श्रृंखलाको अन्त्य गरौँ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन् ।
भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने सत्तारुढ दलहरूको निर्णय
सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।बुधवार बालुवाटारमा बसेको सत्तापक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र १८ गतेभित्रमा प्रमाणीकरण भइसक्नुपर्ने कानुनी व्यवस्था रहेकाले सो अवधिसम्म प्रमाणीकरण हुने स्थिति नदेखिएको भन्दै अध्यादेश फिर्ता लिने निर्णय भएको बताए ।
भूमि सम्बन्धी अध्यादेशलाई फिर्ता लिने र नियमित विधेयकको रुपमा सदनमा लैजाने निर्णय भएको बताए ।
उनले भने ‘भूमि सम्बन्धी अध्यादेशका विषयमा छलफल केन्द्रित थियो । यो अध्यादेश अध्यादेशकै रुपमा जानसक्ने अवस्था रहेन । १८ गतेभित्रमा प्रमाणीकरण भइसक्नुपर्ने कानुनी व्यवस्था हो । त्यसले गर्दा अध्यादेशको रुपमा प्रतिस्थापन विधेयकको रुपमा आउनसक्ने अवस्था रहेन । के गर्ने यस विषयमा भन्ने नै थियो । यसलाई अब नियमित विधेयकको रुपमा लैजाने र नियमित विधेयकमा अरु सत्तारुढ दलहरूको जे भनाइ छ, त्यसलाई आउने विधेयकमा समेटेर लैजाने भन्ने निर्णय भयो ।’
विधेयक लैजाँदा सत्तारुढ दलहरूका मागहरू सम्बोधन गरेर अघि बढाइने पनि उनले जानकारी दिए ।
गणतन्त्रवादीलाई १५ गतेको जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाको आह्वान
चैत्र १५ गते काठमाडौंमा गर्ने जनप्रदर्शनमा उपस्थित हुन समाजवादी मोर्चाले गणतन्त्रवादीहरुलाई आह्वान गरेको छ ।
बुधवार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले मोर्चाको तर्फबाट १५ गते हुने जनप्रदर्शनमा सहभागी हुन आह्वान गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले मोर्चाको तर्फबाट १५ गते गर्न लागेको प्रदर्शनमा सम्पूर्ण गणतन्त्रवादीहरुलाई उपस्थित हुन आह्वान गरे ।
उनले गणतन्त्रको अभ्यासका क्रमा भएका कमीकमजोरीहरुप्रति जनताले गरेको समर्थन र विरोधको नेताहरुले आत्मसमीक्षा गरिरहेको बताए । उनले नेपालको समाजवादको यात्रालाई रोक्न प्रतिगामीहरुको आन्दोलनमार्फत विदेशी शक्तिले षड्यन्त्र गरेको जिकिर गर्दै नेपाली जनतालाई सचेत हुन आग्रह गरे ।
उनले भने, ‘नेपाली जनताको धेरै ठुलो आन्दोलन र त्यागबाट गणतन्त्र स्थापना भएको हो । यद्यपी गणतन्त्रको अभ्यास गर्ने क्रममा केही लिमिटेसन छन् आफ्नै ठाउँमा । जनताले त्यसमा समर्थन पनि ग¥या छन् र विरोध पनि ग¥या छन् । राजनीतिक पार्टीहरुले पनि महसुस गर्नुभएको छ । र आत्मसमीक्षाहरु पनि चलिरहेर्क छ । पर्सी १५ गतेको कार्यक्रम भनेको प्रतिगमनका विरुद्धमा विदेशी षड्यन्त्रका विरुद्धमा, प्रतिगामी तत्वहरुका विरुद्धमा, यथास्थितिवादीहरुको रवैयाको विरुद्धमा सशक्त आन्दोलनको रुपमा यसलाई सम्पन्न गरौँ भन्ने निर्णय गरिएको छ । यो देशको माया गर्ने सबैलाई राष्ट्रको स्वाधिनताका लागि १५ गतेको कार्यक्रममा सहभागी हुन गणतन्त्रको रक्षा चाहने सबैलाई वामपन्थी, कम्युनिष्टहरुलाई समाजवादी मोर्चाको तर्फबाट विशेष अपिल गर्ने निर्णय गरेका छौँ । देश धेरै अप्ठ्यारो स्थितिमा छ, सामान्य अवस्थामा छैन । सत्ताबाट न्याकिएका साशकहरु जहिले पनि सत्तामा फर्किने कुचेष्ठा गरी रहेकै हुन्छन् । दिवा सपना देखिरहेकै हुन्छन् । राजावादी भन्नेहरु, हिजोका भाइभारदारहरु अहिले सल्बलाइरहेका छन् त्यतिमात्रै ठूलो कुरा छैन । तर विदेशी शक्तिहरुको पनि उनीहरुप्रति कतै न कतै आशक्ति देखिन्छ । कतै न कतै सर्पोट देखिन्छ यो सिरियस छ । त्यसकारणले नेपाली जनता र यो देशको निम्ति गणतन्त्र र लोकतन्त्रका विरुद्ध नेपाली जनाता र यो देशको समाजवादको यात्रालाई रोक्ने षड्यन्त्र कतैबाट हुन्छ भने त्यो हामीलाई सयहै हुँदैन त्यसो भएर आम नेपाली जनतालाई सचेत रहन आग्र गर्छु ।’
प्रवक्ता विश्वकर्माले अग्रगमनको विरुद्धमा हुने सबैखाले क्रियाकलाप सैह्य नहुने बताए । उनले राजनीतिक प्रतिगामीहरुको भ्रममा नेपाली जनता नपर्ने जिकिर गरे । संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्ने क्रममा भएका त्रुटी सच्याउँदै जानुपर्ने उनको भनाइ छ ।
हुम्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प
काठमाडौं । हुम्ला जिल्लाको कालिका केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएर चार दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको हो ।
यसअघि आजै साँझ ६ बजेर २७ मिनेट जाँदा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।
कुलमानको समर्थन गर्दै विद्युत् प्राधिकरण परिसरमा आन्दोलन
कुलमान घिसिङको समर्थनमा आज प्रदर्शन भएको छ । बुधवार काठमाडौँस्थित रत्नपार्कमा रहेको नेपाल विद्युत् प्राधिकरणको परिसरमा उक्त प्रदर्शन भएको हो ।
प्राधिकरण अगाडि अहिले बाक्लोसँग प्रहरी परिचालन गरिएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको थियो ।
यससँगै हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनले मंगलबार नै पदबहाली गरिसकेका छन् ।
करिब ६ घण्टा पछि इटहरीमा भएको आगलागी नियन्त्रणमा
सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको हो ।
सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले उक्त आगलागीमा कुनै पनि मानवीय क्षति नभएको मकालुखबरलाई जानकारी दिए ।
उनले आगलागीबाट ‘के कति क्षति भयो र?’ भन्नेबारे विवरण नआइसकेको बताए ।
उक्त आगलागीबाट ११ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरू मध्ये ८ पुरुष र ३ महिला रहेका छन् ।
बुधवार बिहान साढे ९ बजेदेखि सेन्ट्रल प्लाजाको चौथो तलामा आगलागी भएको थियो ।
आगोलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो ।
सेन्ट्रल प्लाजाबाट उद्धार गरिएकामध्ये एक महिला सामान्य घाइते भएकी थिइन् ।
उनी सामान्य उपचारपछि अस्पतालबाट घर फर्किसकिन् । उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी पनि सामान्य घाइते भएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । उनले नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको जानकारी दिए ।
प्रधानमन्त्री कप क्रिकेट स् एपिएफले कोशी प्रदेशलाई हरायो
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लब विजयी भएको छ । एपिएफले कोशी प्रदेशलाई पराजित गरेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ रोजेको कोशीले विकेट गुमाउदै २५४ रन बनायो । कोशीका लागि साकिब हकले ६३ बलमा ११ चौकाको सहयोगमा ६८ रन बनाए । यस्तै अङ्कीत सुवेदीले ३५, आशिष भट्टराईले ३४ र सुजन थपलियाले ३३ रन बनाए ।
बलिङतर्फ एपिएफ क्लबका अभिषेक गौतम र मौसाम ढकालले तीन तीन, कप्तान रोहितकुमार पौडेलले दुई तथा इरशाद अहमद र अमरसिंह रौटेलाले एक एक विकेट लिए ।
एपिएफ क्लबले २५५ रनको विजयी लक्ष्य ४४ दबमलव चार ओभरमा आठ विकेट गुमाएर पूरा गर्यो । एपिएफ क्लबका लागि लोकेश बमले अविजित ८४ रन बनाए ।
उनले ५४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । यस्तै रोहितकुमार पौडेलले ६१, दीपक बोहराले ३६, सन्दिप जोराले ३०, इर्शाद अहमदले अविजित १६ तथा अभिषेक गौतमले १४ रन बनाए ।
बलिङतर्फ कोशीका फिर्दोस अन्सारी र दिपेश कँडेलले तीन तीन तथा ज्ञानेन्द्र श्रेष्ठ र विपुल लुइँटेलले एक एक विकेट लिए ।
