कांग्रेसलाई बलियो बनाउनुपर्छ : गच्छदार


बनियानी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी बलियो बनाउने अभियान सबै नेता–कार्यकर्ताले आफैँबाट सुरुआत गर्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले आज बिर्तामोडमा आयोजना प्रशिक्षक÷प्रशिक्षण कार्यक्रममा नेता गच्छदारले अरूलाई दोष दिनुभन्दा पनि आफैँबाट पार्टी सुदृढ बनाउन लाग्नुपर्ने बताए ।
उनले भने, “गुट–उपगुट समाप्त पारेर एकजुट होऔँं, एकतामा नै शक्ति छ, यो गाह्रो छ तर असम्भव छैन ।” केन्द्रदेखि टोलसम्मकै नेता–कार्यकर्ताले पार्टी अनुशासन र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिँदै नेता गच्छदारले कांग्रेस पार्टीको विधान ‘पे्रसिडेन्टियल सिष्टम’ मा रहेको बताए ।
“सिकाइको क्रम निरन्तर चलिरहन्छ, कोही पनि कुनै पनि विषयमा दक्ष हुँदैन”, उनले भने,“प्रशिक्षणमा सिकेको सीप, पार्टीको इतिहास, वर्तमान र सैद्धान्तिक विषयवस्तुलाई वडा–टोलसम्म पुर्याउनपर्छ ।”
कार्यक्रमका संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कार्यकर्ता प्रशिक्षित नहुँदा विपक्षीले गरेको आलोचनालाई पत्याइदिनुपर्ने बाध्यता रहेको बताए । पार्टीकी केन्द्रीय सदस्य महेन्द्राकुमारी सुब्बाले आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्नेमा जोड दिनुहुँदै पार्टीले गरेका कामको व्यापक प्रचार गर्न आग्रह गरे । केन्द्रीय सदस्य सुशीला ढकाल आचार्यले कांग्रेसले हिजो के ग¥यो ? आज के गर्दैछ र भोलि के गर्छ ? भन्ने कुरा सबै जनतामाझ पु¥याउन प्रशिक्षणलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सञ्जालदेखि चिया पसलसम्म हुने पार्टीप्रतिको आलोचना चिर्न प्रत्येक नेता–कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिए । प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभागका संयोजक रमेशजङ्ग रायमाझीले १४ वटै जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै प्रशिक्षक उत्पादन गरेर वडातहसम्म प्रशिक्षण पुर्याउने लक्ष रहेको बताए ।
