मकवानपुरमा खुकुरी आक्रमण : महिलाको हत्या, एक गम्भीर

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा बुधबार राति एक महिलाको हत्या भएको छ । ३५ वर्षीया गुडिया दास आफ्नै घरको दोस्रो तलामा मृत अवस्थामा फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार उनको टाउकोमा धारिलो हतियार प्रहार भएको गहिरो चोट रहेको छ । सोही घरमा दिउँसो नै अर्को खुकुरी आक्रमण भएको थियो ।

करिब ४ः१० बजे २२/२३ वर्षीय राहुल भन्ने रमेश दासले आफ्ना दाजु २८ वर्षीय रूपेश दासमाथि खुकुरी प्रहार गरेका थिए । रूपेशको टाउको, हात, करङलगायत ठाउँमा गम्भीर चोट लागेको अवस्थामा उनलाई उद्धार गरी अस्पताल पठाइएको थियो । आक्रमणकारी रमेशलाई प्रहरीले घटनास्थलमै पक्राउ गरेको थियो ।

यद्यपि, राति ९ बजे सोही घरको दोस्रो तलामा गुडिया दास मृत फेला परिन् । उनी रूपेश र रमेशकी जेठी भाउजु हुन् । प्रारम्भिक अनुसन्धानका आधारमा घरेलु विवादकै कारण रमेशले खुकुरी प्रहार गरी उनको हत्या गरेको आशंका गरिएको छ । हाल प्रहरीले आरोपी रमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *