राजावादी आन्दोलनमा फाटो : लिङ्देनलाई थाहा छैन, प्रसाईं भन्छन्- परिवर्तन ल्याएरै छोड्छौं   

काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा भोलि (शुक्रबार) राजनीतिक माहौल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।

राजसंस्थाको पुनःस्थापनाका लागि अभियान चलाइरहेको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले विरोध प्रदर्शन गर्ने बताइएको छ । जसमा राप्रपा र राप्रपा नेपालको पनि समर्थन रहनेछ ।

अभियान्ता प्रसाईंले भोलि हुने प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘भोलिको प्रदर्शनको तयारी सकिएको छ । हजारौं जनता राजसंस्था र सरकारका गलत कामकाविरुद्ध सडकमा उत्रिँदैछन्,’ उनले मकालुखबरसँग भने, ‘जनताको बलले देशमा परिवर्तन ल्याएरै छाड्छ । हामी थाकेका छैनौं, झन् उत्साहित भएका छौं ।’

उनले आम जनता र परिवर्तनको पक्षमा रहेकाहरू आन्दोलनमा सहभागी रहने तर्क गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई खबर नगरिएको हो भन्ने प्रश्नमा प्रसाईँले भने, ‘हामीले कसैलाई औपचारिक रुपमा पत्र काटेर नै जानकारी दिएका छैनौं । यो जनताको आन्दोलन हो, राजसंस्था पक्षधरहरूको आन्दोलन हो । उहाँ पनि राजसंस्थाको पक्षधर हो भन्ने हामीले ठानेका छौं तर, आउने-नआउने त्यो उहाँको व्यक्तिगत कुरा भयो । उहाँ (लिङ्देन) नआउँदैमा हाम्रो अभियानलाई कुनै असर पर्दैन ।’

यता राप्रपा अध्यक्ष लिङ्देनले भने आन्दोलनमा पार्टीको समर्थन रहेको बताए । तर आफू जाने-नजाने अहिलेसम्म कुनै निर्णय भइनसकेको उनको भनाई छ । ‘पार्टीले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको छ । यसको मतलब भोलिको प्रदर्शनमा समर्थन छैन भन्ने होइन, पार्टीका साथीहरु र कार्यकर्ता जाहुहुन्छ,’ उनले भने, ‘मलाई औपचारिक रुपमा कुनै जानकारी नआएकाले जाने-नजाने टुंगो छैन ।’

राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको परिप्रेक्ष्यमा दुबै पक्षले भोलि एकैदिन राजधानीमा प्रदर्शन गर्न लागेको कारण सुरक्षाकर्मीहरू सतर्क बनेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उच्च सतर्क रहन निर्देशन दिएको छ ।

राजनीतिक माहोलको संवेदनशीलता र सुरक्षासम्बन्धी चासोलाई ध्यानमा राख्दै, सुरक्षा अधिकारीहरूले आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी समेत गरिरहेका छन् । भोलि काठमाडौंका मुख्य क्षेत्रहरूमा सुरक्षा उपस्थिति बढाइनेछ र प्रदर्शनकारीहरूको गतिविधि निगरानीमा राखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *