कञ्चनपुरमा होली खेलेर संकलित रकम घाइते पत्रकारलाई प्रदान


कञ्चनपुर । कञ्चनपुरका पत्रकारले होली खेलेर संकलन गरेको रकम घाइते पत्रकारलाई प्रदान गरेका छन् । जिल्लाका पत्रकारहरुले रंगहरुको पर्व होली खेलेर लामो समयदेखि बिरामी रहेका पत्रकार डिल्लीराज पन्त,सुजित रमेश सिनाललाई आर्थिक सहयोग गरेका हुन् ।
त्यस्तै मोटरसाइकल दुर्घटनामा परेका पत्रकार माधव पौडेल र कृष्णदत्त जोशीलाई समेत आर्थिक सहयोग गरिएको पत्रकार मोहन विष्टले बताए ।
पत्रकारहरुले आफ्नै सहकर्मी संकटमा परेका बेला केही उपचारमा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरिएको प्रेस सेन्टरका अध्यक्ष अरुण प्रसाद भट्टले बताए । उनीहरुलाई २० हजार बढी आर्थिक सहयोग गरिएको हो । घाइते पत्रकारहरुलाई नगद ५ हजार १ सयका दरले आर्थिक सहयोग गरिएको हो ।
२४ सै घण्टा जनताको काममा खटिने पत्रकार अफ्ठ्यारोमा पर्दा उपचारका लागि सक्दो आर्थिक सहयोग गरेको पत्रकार भाष्कर केसीले बताए ।
होली खेलेर आफ्नो उपचारका लागि आर्थिक सहयोग गरेको भन्दै चारै जना पत्रकारले होली खेल्ने पत्रकारप्रति आभार व्यक्त गरेका छन् । पत्रकारको टोलीले गत वर्ष पनि होली खेलेर अनाथालयमा सहयोग गरेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
