८९ वर्षको उमेरमा नागरिकता पाएपछि…


बाजुरा । यहाँको बूढीगङ्गा नगरपालिका–८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई बिहीबार नेपाली नागरिकता प्रदान गरे ।
उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी जटिलताका कारण नसकेको सो वडाका वडाअध्यक्ष रमेश रावलले बताए ।
वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनी नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो । वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए ।
नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन् । आफ्नो सबै थोक नाताले भाई पर्ने रमेश रावल भएको प्रतिक्रिया उनले दिइन् । “वडा अध्यक्षके कारणले मैले आज नागरिकता पाएँ”, नेपालीले भनिन् ।
उनको श्रीमान बितेको २२ वर्ष भएपनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित भएकी थिइन् । नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पुरा गरी आज नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।
जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ ।
