कर्मचारीहरू राष्ट्र सेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढ्यो : राजेन्द्र लिङदेन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले कर्मचारीहरू राजनीतिक स्वार्थको लागि राष्ट्रसेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढेको बताएका छन् ।

बिहीबार संसद भवन परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले आफ्नो कार्यकालको केही समय मात्र बिताउन बाँकी रहेका कुलमानलाई सम्मानजनक बिदाइ गर्नुपर्ने ठाउँमा उपमानजनक रूपले निष्कासन गरेर सरकारले गलत नजिर स्थापित गरेको बताए ।

उनले उत्कृष्ट प्रशासकको छवि बनाएका कर्मचारीलाई हटाउँदा अगामी दिनमा समेत सरकारले स्वार्थअनुकुल कर्मचारीहरू हटाउने र राख्ने कार्य गर्ने उनको भनाइ छ । उनले कमजोर कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम गरेको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने जिकिर गरे ।

उनले भने ‘पहिलो कुरा त सरकारले जे निर्णय गर्यो त्यो गलत गर्यो । कति मानिसहरूले सरकारले आफ्नो कर्मचारीलाई निकाल्न पनि सक्छ, राख्न पनि सक्छ यो सामान्य प्रक्रिया हो भनेर व्याख्या गरिरहेका छन् । तर एउटा कुशल प्रशासकको रुपमा स्थापित कुलमान घिसिङ जसले आफ्नो कार्यकालको थोरै मात्र समय व्यतीत गर्न बाँकी थियो । उसलाई सम्मानजनक बिदाइ गर्नुपर्ने ठाउँमा जुन उपमान जनक ढंगले निष्कासन गरियो । त्यसले एउटा नजिर खडा हुने खतरा भयो कि सरकारले चाह्यो भने कर्मचारीहरूलाई जुनसुकै बेला निकाल्न सक्छ । यसले कर्मचारी राष्ट्रसेवक भन्दा पनि कहिले काँही राजनीतिक स्वार्थको लागि सरकार र पार्टीको नोकरमा परिणत हुने खतरा भयो । र अरुले पनि यसलाई नजिर बनाएर पहिले पनि यसरी निकालिएको थियो निकाल्न पाइन्छ भन्ने बाटोतर्फ देश गयो भने कर्मचारी संयन्त्र कर्मचारी प्रशासन त्यसै त कमजोर भएको छ त्यो ध्वस्त हुनसक्छ ।’

अध्यक्ष लिङदेनले प्रतिपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ मागिरहेको र जवाफ नदिएसम्म संसद चल्न नदिने अडान कायमै रहेको बताए । उनले प्रधानमन्त्रीले सदनमा जवाफ दिनुको सट्टा संसद बाहिर प्रतिपक्षी दलहरूलाई अपमानित गर्नेगरी दिएको जवाफ खेदजनक रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *