खबर दिनभर : संसद चल्न ओलीले कुलमान हटाएको विषयमा जवाफ दिनैपर्ने, सरकारको निरन्तर विरोध

प्रतिपक्षी दलले मुलुकलाई कानुनहरूबाट भ्याकुममा राख्ने काम गरे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलहरुले जानी जानी मुलुकलाई कानुनहरूबाट भ्याकुममा राख्ने काम गरिएको बताएका छन् ।

बिहीबार आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले प्रतिपक्षले अनावश्यक ‘ननइस्यु’लाई ‘इस्यु’ बनाएर सदन अवरुद्ध पारिएको बताए ।

उनले सरकारले ल्याएका प्रतिस्थापन विधेयकहरू यही चैत १८ गते भित्र राष्ट्रपतिबाट हस्ताक्षर गर्नुपर्ने भएको कारण कुनै कर्मचारीको विषयलाई लिएर सदन अवरुद्ध गर्न नहुने बताए ।

उनले प्रतिपक्षले सदनमा अवरोध कायमै राखे मुलुक फेरि कानूनविहिनतामा अगाडि बढ्ने उनले बताए । उनले विद्युत् प्राधिकरणको विषयमा गाली नगर्नुपर्नेलाई झुटो गाली र प्रशंसा नगर्नुपर्नेलाई झुटो प्रशंसा गरिएको समेत बताए ।

पूर्वराजा शाहलाई देउवाको आग्रह : आस नगरे हुन्छ, अब गणतन्त्र हट्दैन

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै रहर गरेर राजतन्त्र पुनः स्थापित नहुने बताएका हुन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पार्टीको मानव अधिकार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बिपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका धेरै नेपालीहरूले लडेर नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको भन्दै अब यो व्यवस्था हट्न नसक्ने दाबी गरे । उनले सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको भन्दै कसैले रहर नगर्न आग्रह गरे ।

उनले गणतन्त्र नेपाली जनताले मानिसकेको भन्दै पूर्वराजा शाहलाई राजतन्त्र फर्किने आस नगर्न आग्रह गरे । उनले देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको र हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको उल्लेख गर्दै अब देशमा कुनै किसिमको डर नरहेको बताए । कुनै हालतमा पनि प्रजातन्त्र हट्न नसक्ने दाबी गर्दै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रलाई स्थायी गराउने काममा लाग्न आग्रह गरे ।

सभापति देउवाले भने ‘बिपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोईराला लगायतका सबै साथी भाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौँ । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौँ । कसैले रहर गरेर हुनेकुरा छैन । यो सम्पूर्ण नेपाली जनताले संविधान सभामार्फत जनताको इच्छाअनुसार गणतन्त्र आएको हो । यो हट्नेवाला छैन, हट्नेकुरा पनि छैन । नेपाली जनताले मानिसकेको हुनाले कसैले आशा नगरे हुन्छ । मैले भनिसकेको छु, धेरै कुरा भन्नेकुरा छैन । हाम्रो देशमा प्राप्त समावेशी, समानुपातिक प्रतिनिधित्व भएको संविधान छ । हिमाल, पहाड, तराईका सबै अटाउने गणतन्त्रात्मक संविधान बनेको छ । हाम्रो देशमा कुनै किसिमको डर, त्रास छैन । राजाले कु गर्छन् भने जस्तो हाम्रो राष्ट्रपतिले कु गर्न सक्दैन । कुनै हालतमा पनि प्रजातन्त्र हट्ने कुरा छैन । यो आएको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र छ, यसलाई स्थायी गराउने काममा लाग्नुपर्छ ।’

सभापति देउवाले नेपालको संविधानमा सबैको प्रतिनिधित्व रहेको बताए । संविधान प्रदत्त अधिकारहरूमा पनि सबैलाई सहभागी गराइएको बताए ।

कुलमानको समर्थनमा टुकी बालेर आन्दोलन

कुलमान घिसिङको समर्थनमा टुकी बालेर आन्दोलन गरिएको छ । बिहीबार ललितपुरस्थित लबिङ मल अघि घिसिङको समर्थनमा उक्त आन्दोलन गरिएको हो ।

प्रदर्शनकारीहरूले ‘कुलमान हटाउन पाइँदैन, भ्रष्ट सरकार चाहिँदैन्’ भन्दै सरकारको विरोध गरेका देखिन्छन् ।

साथै घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रुपमा पुनस् फर्काउनु पर्ने माग गरेका छन् ।

घिसिङ पदबाट बर्खास्त भएसँगै हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक नियुक्त भएका थिए ।

उनले गत मंगलबार नै पदबहाली गरिसकेका छन् ।

नवीन सहमतिमा आउन गणतन्त्रवादी दलहरूलाई संयुक्त जनआन्दोलन समितिको अल्टिमेटम

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयुक्त जनआन्दोलन समितिले आजको मितिले एकहप्ता भित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको हो ।

पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक हप्ताभित्र सरकारले आफ्नो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गरे ।

उनले ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरे । २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानहरूलाई समेट्दै ०४७ को संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरूबिच सहमति बन्नुपर्ने आफूहरूको चाहाना रहेको उनको भनाइ छ ।

राजावादी समूहले शुक्रवारदेखि गर्ने आन्दोलनमा कमाण्डरको जिम्मेवारी व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको छ । प्रसाईं नेतृत्वको अभियानले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ गठन गर्नुपूर्व नै घोषणा गरेको चैत १५ गतदेखि सुरु हुने आन्दोलनलाई अपनत्व लिएको उल्लेख गरे ।

उनले भने, ‘नवगठित संयुक्त जनआन्दोलन समितिमा जनकमाण्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ । उहाँको नेतृत्वको महाअभियानले राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गर्नुपूर्व नै भोलि चैत १५ गतेदेखि सुरु हुने गरी घोषणा गरेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले अपनत्व लिएको छ । त्यसलाई पूर्णरुपमा सफल बनाउन हामीले आफ्नो दायित्व सम्झिएका छौं । आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ । त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।’

उनले संयुक्त जनआन्दोलन समितिलाई आवश्यक सुझाव दिनको लागि डा।जगमान गुरुङको संयोजकत्वमा सल्लाहकार समिति र राप्रपा सांसद धवल समसेर जबराको संयोजकत्वमा आन्दोलन परिचालन समिति बनाइएको समेत जानकारी दिए ।

प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसद चल्न दिदैनौँ : माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन् । बिहीबार संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति जबाफदेही हुनुपर्ने बताए । उनले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको बताए । उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए ।

उनले सरकारले बदनियत राखेर काम गरेकाले संसदमा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए । कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरूले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ ।

उनले भने ‘प्रधानमन्त्री संसदले नै जन्माएको हो, बनाएको हो । सरकारलाई खबरदारी गर्ने जनउत्तरदायी बनाउने, जबाफदेखि बनाउने थल संसद हो । तर सरकार स्वेच्छाचारी ढंगले निरङ्कुश तरिकाले आफ्नो सुरमा कुशासन गरिराख्ने परिस्थिति छ, हामीले सुशासनको लयमा आउनुहोस् भन्दा नटेर्ने, जवाफ नदिने, संसदलाई नटेर्ने जे हर्कत गरिराखेको छ, त्यसलाई समेत मध्यनजर गरेर पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टँदै आइराखेको थियो पछिल्लो समय जे निर्णय गर्यो यसका बारेमा के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ । प्रधानमन्त्री र सरकार संसदसँग जिम्मेवार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ । सडकभरि जनता उत्रिएका छन्, हामी सबै विपक्षी दलका सांसदहरू संसदमा उभिएर उहाँको जवाफ माग गरिरहेका छौँ । उहाँले सही तरिकाले बदनियत नराखी काम गरेको हो भने संसदमा उभिएर जवाफ दिन हिम्मत गर्नुपर्ने हो । यहीबाट देखिन्छ कि संसद फेस गर्ने उहाँसँग नैतिक धरातल छैन, उहाँहरुले गलत गरिराख्नुभएको छ । त्यसैले नैतिक हिसाबले इमानदारीपूर्वक उहाँहरुले गरेका कामकारबाही पुष्टि हुन नसकेका कारण उहाँहरू जवाफ दिन तयार हुनुहुन्न । मन्त्रिपरिषद् गरेको निर्णय भएकाले हामीले प्रधानमन्त्रीकै जवाफ खोजेका छौँ । र प्रधानमन्त्रीले जहिलेसम्म चित्त बुझ्ने तरिकाले तथ्य तथ्यांकका आधारमा जवाफ दिनु हुन्न तबसम्म हाम्रो अवरोध कायम रहन्छ ।’

सांसद सापकोटाले वर्तमान सरकार बिचौलियाहरूले बनाइ दिएको र उनीहरूकै स्वार्थ पूरा गर्न उनीहरूकै हितमा चलेको आरोप लगाए । उनले सांसदहरू बोल्दै गर्ने तर सरकारले स्वेच्छाचारी र निरङ्कुश गतिविधि गरी रहने हो भने संसद चल्नु र नचल्नुमा कुनै मूल्य नहुने जिकिर गरे ।

शुद्धीकरण अभियानको आमरण अनसन दोस्रो दिन पनि जारी :  खेलकुदमन्त्रीको पुत्ला बनाइयो

नेपाल स्काउटभित्र देखिएको अनियमितता,अपारदर्शिता तथा अराजक गतिविधि विरुद्ध गठन भएको शुद्धीकरण अभियानको आमरण अनसन जारी छ । बुधबारदेखि स्काउट प्राङ्गणमै शुद्धीकरण अभियानले आमरण अनसन थालेको छ ।

स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि गम्भीर आरोपहरु लाग्दा समेत छानविनसम्म नभएपछि गत चैत्र १ गेतेदेखि रिले अनसनमा बस्दै आएको शुद्धीकरण अभियान बुधबारदेखि आमरण अनसनमा बसेको हो ।

निर्देशक भट्टराईमाथि आर्थिक अनियमिततादेखि यौन दुर्व्यवहारसम्मका गम्भीर आरोपहरु लाग्दा समेत युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले छानविनका लागि तदारुकता नदेखाएपछि बिहीबार मन्त्री चौधरीको पुत्ला बनाइएको शुद्धीकरण अभियानका संयोजक देवदूत अधिकारीले बताए । शुद्धीकरण अभियानले खेलकुदमन्त्री चोधरीको राजीनामा समेत माग गरेको छ ।

मन्त्री चौधरीको पुत्ला बनाइएको थाहा पाएपछि उनका सहयोगी (पीए) ले अनसनरत स्काउटरलाई हप्काएका छन् । किन मन्त्रीको पुत्ला बनाएको भन्दै हप्काएको स्काउटरहरुले बताए ।

एउटै मञ्चमा देखिए ओली, देउवा र प्रचण्ड

प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आज एउटै मञ्चमा देखिएका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यक्रममा एउटै मञ्चमा देखिएका हुन् ।

नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी राष्ट्रिय सम्मेलन उनीहरु सहभागी हुन् । कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसद, द्वन्द्वपीडितका प्रतिनिधि लगायत सहभागी छन् ।

समयको चाप रहेको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्ड भने आफ्नो मन्तव्य राखेर कार्यक्रमबाट बाहिरिसकेका छन् । एभरेष्ट होटलमा बानेश्वरमा अहिले सम्मेलन चलिरहेको छ । गएको सोमबार मात्रै तीन जना शीर्ष नेताले संक्रमणकालीन न्यायका संयन्त्रमा पदाधिकारी छनोट गर्ने सहमति जुटाएका थिए ।

स्थानीय कर्मचारी संघको बालेनलाई पत्र : सात दिन भित्र तलब दिन अल्टिमेटम

स्थानीय तह कर्मचारी संघले प्रशासनिक समस्याको सम्बन्धमा काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै संघले महानगरपालिकालाई ध्यानाकर्षण गराएको हो ।

विगत तीन महिना देखि प्रशासनिक नेतृत्व विहीन हुँदा समग्र काठमाडौं महानगरपालिकाको प्रशासनिक यन्त्र अस्त व्यस्त वनेको संघले जनाएको छ ।

विगत तीन महिनादेखि पारिश्रमिक नपाउँदा झन्डै ४,००० पेसाकर्मीहरूको दैनिकी चल्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । लामो समयसम्म तलब प्राप्त गर्न नसक्दा कर्मचारीहरूको कार्य मनोबल चरम खस्किएको बताइएको छ ।

संघले महानगरका नेतृत्वले सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गर्नुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरि थप समस्याको सृजना गर्न उद्धत भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘विकास निर्माण लगायतका कार्यहरू ठप्प बनेको छ । यस्तो अवस्था हुँदा समेत सिंगो महानगर नेतृत्व जिम्मेवार एवं गम्भीर भई समस्याको समाधानका लागि सम्बन्धित पक्षसँग समन्वयात्मक तवरले समस्याको निकासको लागि पहल गर्नुपर्नेमा झनै समस्या लम्ब्याउने तवरले सामाजिक सञ्जालको माध्यमबाट उच्छल, अवाञ्छित एवं उत्तेजित शब्दावली प्रयोग गरि थप समस्याको सृजना गर्न उद्धत देखिनुले समस्या हल गर्नतर्फ हैन, आ–आफ्‌नो दम्भ प्रदर्शन गर्नतर्फ अग्रसर देखिन्छ ।’

संघले काठमाडौं महानगरपालिकाको हकमा विधि र प्रक्रियाबाट भई व्यक्तिको मौखिक आदेश, निर्देशनबाट प्रशासन संयन्त्र सञ्चालन गर्न खोज्दा हाल यो समस्या पैदा भएको ठहर गरेको छ ।

संघले अनधिकृत व्यक्तिहरूबाट कर्मचारीहरूलाई त्रास एवं भयको वातावरण सृजना गरि कानुन सम्मत ढंगले कार्य गर्न पाउने अधिकारलाई कुण्ठित गराई जवर्जस्त आदेश लाद्‌ने पद्धतिले काठमाडौँ महानगरपालिकामा दिनानुदिन झनै जरा गाड्दै गएको बताएको छ ।

संघले विधिको शासनको मूल्य र मान्यतालाई शिरोपर गर्दै भय रहित वातावरणमा कर्मचारीहरूलाई काम गर्ने अवस्थाको सृजना गर्न महानगर नेतृत्वसँग माग गरेको छ । साथै प्रशासनिक नेतृत्वलाई कार्यालयमा उपस्थित भई कामकाज गर्ने अविलम्ब उचित वातावरण बनाउन आग्रह गरेको छ ।

संघले महानगरपालिकाका कर्मचारीहरूको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन यस पूर्वपनि ध्यानाकर्षण गराएको भन्दै हालसम्म उक्त समस्याको समाधान गर्नतर्फ अग्रसर नदेखिएको संघका अध्यक्ष नारायण प्रसाद शर्माले बताए ।

उनले महानगरको समस्या र संघको मागलाई बेवास्ता गरि उत्तेजित हुँदै समस्या लम्ब्याउने, बल्झाउने तर्फ उद्धत भई आम कर्मचारीको समस्या एक हप्ता भित्र समाधान नगरेमा सम्पूर्ण पेशाककर्मीहरु एकत्रित भई कडा आन्दोलन गर्ने चेतावनी दिए ।

उनले समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलन गर्ने बताए । उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार पक्ष काठमाडौँ महानगरपालिकाको नेतृत्व स्वयं हुने बताए ।

राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा दुर्गा प्रसाईं कमाण्डर बनेका छन् ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै समितिका संयोजक नवराज सुवेदीले उक्त जानकारी दिएका हुन् ।

उनले मेडिकल व्यवसायी प्रसाईंलाई संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको जिम्मेवारी दिएको बताए ।

गणतन्त्र पक्षधर र राजावादीहरूले भोलि काठमाडौँमा प्रदर्शन गर्ने भएका छन् ।

काठमाडौँ प्रशासनले क्रमशः दुई पक्षलाई भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्न स्थान छुट्याइदिएको छ ।

बढ्यो नेप्से परिसूचक

यो साता कारोबारको अन्तिम दिन पुँजीबजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो ।

बिहीबार तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबै समूहको उपसूचक हरियो देखिएको छ । व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ९०, विकास बैंक एक दशमलव १०, वित्त एक दशमलव ३०, होटल तथा पर्यटन शून्य दशमलव ४४, जलविद्युत् एक दशमलव शून्य नौ र लगानी समूह दुई दशमलव २० प्रतिशतले बढेको छ ।

त्यस्तै जीवन बिमा एक दशमलव ७१, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९२, लघुवित्त दुई दशमलव २२, म्युचुअल फण्ड शून्य दशमलव ३७, निर्जीवन बिमा शून्य दशमलव ८५ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी कुमारी सबल योजनाको शेयर मूल्य एक दशमलव ८२ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५१ करोड १८ लाख १७ हजार सात सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको छ ।

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ हजार ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रधानमन्त्री कप क्रिकेटमा मधेससंग बागमती चार विकेटले पराजित

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको छ ।

बागमती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल गर्‍यो । मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए ।

उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । साथै रोहन विश्वकर्माले ३९, हरिशङ्कर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए ।

बागमती प्रदेशका लागि सूर्य तामाङले दुई विकेट लिए भने रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एकरएक विकेट लिए ।

यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो ।

बागमतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए । उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०र३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए ।

मधेसका लागि हरिशङ्कर साह, पवन सर्राफ र अनिल साहले समान दुईरदुई विकेट लिए । प्रतियोगितामा चार जित र पाँच हारसहित आठ अङ्कले सातौँ स्थानमा छ भने चार जित र पाँच हारसहित बाग्मती अङ्कतालिकाको चौथो स्थानमा छ ।

उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

२५ प्रतिशत अटो ट्यारिफ लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार २५ प्रतिशत अटो ट्यारिफ लगाउने योजनाको घोषणा गरेका छन् । जुन अप्रिल २ मा लागू हुने तय गरिएको छ ।

अमेरिकी राष्ट्रपतिले ट्यारिफले थप उत्पादनलाई संयुक्त राज्य अमेरिकामा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने बताएका हुन् । सरकारको लागि नयाँ राजश्व उत्पन्न गर्ने र राष्ट्रिय ऋण घटाउन मद्दत गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *