आज काठमाडौंमा राजावादी र गणतन्त्र समर्थकको प्रदर्शन, सुरक्षा सतर्कता उच्च


काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा आज राजनीतिक माहोल तात्ने देखिएको छ । एकातिर, राजावादीहरू सडक प्रदर्शनको तयारीमा जुटिरहेका छन् भने अर्कोतिर, नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ ।
राजसंस्थाको पुनःस्थापनाका लागि अभियान चलाइरहेको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले विरोध प्रदर्शन गर्ने बताइएको छ । जसमा राप्रपा र राप्रपा नेपालको पनि समर्थन रहनेछ ।
अभियान्ता प्रसाईंले आज हुने प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘आजको प्रदर्शनको तयारी सकिएको छ । हजारौं जनता राजसंस्था र सरकारका गलत कामकाविरुद्ध सडकमा उत्रिँदैछन्,’ उनले मकालुखबरसँग भने, ‘जनताको बलले देशमा परिवर्तन ल्याएरै छाड्छ । हामी थाकेका छैनौं, झन् उत्साहित भएका छौं ।’
राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गएको परिप्रेक्ष्यमा दुबै पक्षले आज एकैदिन राजधानीमा प्रदर्शन गर्न लागेको कारण सुरक्षाकर्मीहरू सतर्क बनेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीका तीनवटा जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई उच्च सतर्क रहन निर्देशन दिएको छ ।
राजनीतिक माहोलको संवेदनशीलता र सुरक्षासम्बन्धी चासोलाई ध्यानमा राख्दै, सुरक्षा अधिकारीहरूले आवश्यक परे थप सुरक्षा बल परिचालन गर्ने तयारी समेत गरिरहेका छन् । आज काठमाडौंका मुख्य क्षेत्रहरूमा सुरक्षा उपस्थिति बढाइनेछ र प्रदर्शनकारीहरूको गतिविधि निगरानीमा राखिनेछ ।
