लखनउको शानदार जित, सनराइजर्सको चलेन ब्याटिङ लाइन

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई पाँच विकेटले पराजित गरेको छ। राजीव गान्धी स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको योगफल तयार गर्‍यो।

लखनउले १९१ रनको लक्ष्य सहजै पछ्याउँदै १६.१ ओभरमा पाँच विकेटको क्षतिमा जित हात पार्‍यो। निकोलस पुरनको विस्फोटक ब्याटिङ लखनउको जितको मुख्य आधार रह्यो। उनले २६ बलमा ७० रन बनाउँदै ६ चौका र ६ छक्का प्रहार गरे। मिचेल मार्शले ३१ बलमा ५२ रन जोडे भने कप्तान ऋषभ पन्त १५ रनमै पवेलियन फर्किए। डेभिड मिलर १३ रनमा आउट हुँदा अब्दुल समादले २२ रनको योगदान दिए।

यस जितसँगै लखनउले दुई खेलमा दुई अंक जोडेको छ। पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग एक विकेटले पराजित भएको लखनउले उत्कृष्ट पुनरागमन गर्दै हैदरावादलाई हरायो। यो सिजनमा हैदरावादको भने पहिलो हार हो। उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको थियो।

हैदरावादको ब्याटिङ लयमा समस्या देखियो। आक्रामक खेलाडीहरू अभिषेक शर्मा, इशान किशन, नितिशकुमार रेड्डी र हेनरिक क्लासेन चल्न सकेनन्। ओपनर ट्रेभिस हेडले सर्वाधिक ४७ रन बनाए भने अंकत बर्माले १३ बलमा ३६ रनको तेज इनिङ खेले। नितिशकुमार रेड्डीले ३२, हेनरिक क्लासेनले २६ र प्याट कमिन्सले १८ रनको योगदान गरे।

लखनउका बलरहरू प्रभावशाली रहे। शार्दुल ठाकुरले चार ओभरमा ३४ रन खर्चेर चार विकेट लिए। आवेश खान, दिग्वेश राठी, रवि बिश्नोई र राजकुमार यादवले समान एक-एक विकेट लिए। हैदरावादका कप्तान प्याट कमिन्सले दुई विकेट लिए भने मोहम्मद शामी, एडम जाम्पा र हर्षल पटेलले समान एक-एक विकेट हात पारे।

लखनउले आक्रामक खेल प्रदर्शन गर्दै सिजनमा पहिलो जित दर्ता गरेको छ भने हैदरावादले दोस्रो खेलमा कमजोर प्रदर्शन गर्दै हार बेहोर्‍यो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *