कहाँ-कहाँबाट निस्कँदैछ राजावादी र गणतन्त्रको जुलुस ? यी क्षेत्रमा ट्राफिक डाइभर्ट, ३५ सय प्रहरी सडकमा


काठमाडौं । देशको संघीय राजधानी काठमाडौंमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चा र पूर्वराजा समर्थक समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । प्रदर्शनीमार्गमा समाजवादी मोर्चाले शक्ति प्रदर्शन गर्ने भएको छ भने पूर्वराजा समर्थकले तीनकुनेमा जुलुस निकाल्नेछन् ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा सहभागी छन् । मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्दै माइतीघर, त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म र्याली निकाल्ने छ । उनीहरू बबरमहलबाट माइतीघर हुँदै प्रदर्शनीमार्ग पुग्नेछन् भने केही समूह कुपण्डोलबाट त्रिपुरेश्वर हुँदै अघि बढ्ने छन् ।
त्यसैगरी, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को आयोजनामा पूर्वराजा समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले पनि सोही प्रदर्शनमा सहभागिता जनाउने छ ।
दुई पक्षधरको प्रदर्शनलाई मध्यनजर गर्दै उपत्यका प्रहरी कार्यालयले काठमाडौंमा उच्च सतर्कता अपनाएको छ । सम्भावित मुठभेड रोक्न तीनकुने र प्रदर्शनीमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिनेछ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)विश्व अधिकारीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने योजना बनाइएको छ ।
प्रदर्शनस्थलमा एसपी अपिल बोहरा खटिने छन् भने सुरक्षा निगरानीका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा व्यवस्थापन गर्नेछन् । मुठभेड रोक्न पूर्वराजा समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै प्रदर्शन गर्न दिने रणनीति बनेको छ ।
चाबहिलबाट सातदोबाटो हुँदै तीनकुनेसम्म उनीहरूलाई जुलुस निकाल्न दिइनेछ भने भक्तपुरबाट आउने पूर्वराजा समर्थक तीनकुनेमै रोकिनेछन् । त्यस्तै, समाजवादी मोर्चाका समर्थकलाई कोटेश्वरबाट बालकुमारी हुँदै प्रदर्शनीमार्ग पठाइनेछ । यी क्षेत्रमा ट्राफिक डाइभर्ट गरिने छ ।
प्रहरीले सम्भावित अशान्ति नियन्त्रण गर्न सादा पोसाकका प्रहरी परिचालन गर्ने योजना बनाएको छ । एसएसपी शेखर खनालका अनुसार सूचना संकलन गर्न सादा पोसाकका सुरक्षाकर्मी खटाइनेछन् । काठमाडौंको प्रमुख क्षेत्रमा हुने यी दुई प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता बढाइएको छ । कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा संयन्त्र उच्च तयारीमा रहेको छ ।
