काठमाडौंमा उच्च सुरक्षा सतर्कता, दुई समूहलाई भेट हुनै नदिने

आज गणतन्त्रवादी र राजावादीले प्रदर्शन

काठमाडौं । काठमाडौंको संघीय राजधानीमा शुक्रबार दुईवटा ठूला प्रदर्शन हुने भएका छन् । एकातर्फ गणतन्त्र पक्षधरहरूको प्रदर्शन रहनेछ भने अर्कातर्फ राजसंस्था पुनस्र्थापनाका पक्षधरहरूको । गणतन्त्रवादीहरूको प्रदर्शन चार दलीय समाजवादी मोर्चाले नेतृत्व गर्नेछ भने राजावादीहरूको प्रदर्शन राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले गर्नेछ ।

पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी घटकहरू पछिल्लो समय सक्रिय भइरहेका छन्, जसका कारण गणतन्त्र पक्षधरहरू सचेत भएका छन् । यही कारण गणतन्त्र पक्षधरहरूले पनि आफ्नो समर्थनमा प्रदर्शन गर्न लागेका हुन् । राजावादीहरू गणतन्त्रको विरोध गर्दै, पूर्वराजालाई सहभागी गराउने प्रयत्नमा छन् । यसै क्रममा समितिका संयोजक नवराज सुवेदी, जनकमाण्डर दुर्गा प्रसाईंलगायतले पूर्वराजासँग भेटघाट गरिसकेका छन् ।

राजावादी प्रदर्शन तीनकुनेमा आयोजना हुनेछ भने गणतन्त्रवादीहरू भृकुटीमण्डपमा भेला हुनेछन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू विभिन्न स्थानहरूबाट जुलुस निकाल्दै भृकुटीमण्डप पुग्नेछन् । उनीहरू बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीजस्ता स्थानहरूबाट प्रदर्शन गर्नेछन् ।

जिल्ला सुरक्षा समितिले सम्भावित भिडन्त रोक्न विशेष सुरक्षा योजना बनाइसकेको छ । गणतन्त्र पक्षधर र राजावादी प्रदर्शनकारीहरूलाई अलग राख्न तीनकुने र भृकुटीमण्डप छुट्टाछुट्टै स्थान तोकिएको छ । समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको हो । प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ, जसअनुसार काठमाडौं उपत्यकाभित्र ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ ।

रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्र ३ हजार प्रहरी तैनाथ गरिनेछ भने विभिन्न गण र गुल्मबाट थप १,११६ प्रहरी परिचालन गरिनेछ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन प्रभावित हुनसक्ने भएकाले वैकल्पिक ट्राफिक व्यवस्थापन (डाइभर्सन) को योजना बिहान ११ बजेपछि तय गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *