काठमाडौंमा दुई परस्पर विरोधी प्रदर्शन सुरु, मुठभेट हुन नदिन उच्च सुरक्षा सतर्कता


काठमाडौं । काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरुको प्रदर्शन सुरु भएको छ । राजावादीहरुले प्रदर्शन सुरु गरिसकेका छन् भने गणतन्त्रवादी तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको हो ।
काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा-ब्यानरसहित नेता-कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्यालीसहित आ-आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् । एसईई परीक्षा रहेकाले १२ बजेदेखि मात्रै प्रदर्शन सुरु गर्ने भनिए पनि ११ बजेदेखि नै उनीहरु र्यालीमा मिसिएको देखिन्थे ।
प्रदर्शनीमार्गमाले समाजवादी मोर्चा विशाल जनसभा गर्दैछ भने राजसंस्था पुनर्स्थापनाको पक्षमा रहेकाहरुले तिनकुनेमा सभा गर्दै छन् । प्रदर्शनीमार्ग र तिनकुने दुवै क्षेत्रमा सभाका लागि मञ्च तयार भइसकेको छ ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा) र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू विभिन्न स्थानहरूबाट जुलुस निकाल्दै भृकुटीमण्डप पुग्नेछन् । उनीहरू बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीजस्ता स्थानहरूबाट प्रदर्शन गर्नेछन् ।
गणतन्त्र पक्षधर र राजावादी प्रदर्शनकारीहरूलाई अलग राख्न तीनकुने र भृकुटीमण्डप छुट्टाछुट्टै स्थान तोकिएको छ । समितिले गणतन्त्र पक्षधर र विरोधी प्रदर्शनकारीलाई भेट्न नदिने विशेष रणनीति अपनाएको हो । प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ, जसअनुसार काठमाडौं उपत्यकाभित्र ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ ।
रानीपोखरी र भद्रकाली क्षेत्रमा मात्र ३ हजार प्रहरी तैनाथ गरिनेछ भने विभिन्न गण र गुल्मबाट थप १,११६ प्रहरी परिचालन गरिएकाे छ ।
