सरकारले १५ वर्ष मुनिका विपन्न बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने


काठमाडौं । सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने भएको छ ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने गरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गराएको बताए ।
उनले आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको जानकारी दिए ।
कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका २ लाख ५० हजारको रुपमा सहायता दिँदै आइरहेको बताए ।
नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको डा. बुढाथोकीको भनाइ छ ।
उनले भने, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्ने गरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सञ्चलक समितिको बैठकमा माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलज्यूले आर्थिक कठिनाइका कारण कुनै पनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको छ । यस कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका २ लाख ५० हजारको रुपमा सहायता दिँदै आइरहेको छ । नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।’
उनले मस्कुलर डिस्टोफी रोगको पहिचान, उपचार र रोकथाम एवं पुनःस्थापनका लागि नीति तथा कार्य योजना तयार गर्न प्राध्यापक डा.जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन भएको बताए ।
मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो । जसले शरीरका मांसपेशीहरूलाई क्रमशः कमजोर बनाउँछ । जसले हिँड्न, दौडिन र खेल्न कठिन हुन्छ ।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्बन्त्री जानकारी लिन, स्वास्थ्य सम्बन्धी सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर दिन सक्ने बताए ।
