राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा उजुरी


काठमाडौँ । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ ।
शुक्रवार राजावादी आन्दोलनका कमान्डर समेत रहेका प्रसाईँ विरुद्ध मायाको पहिचान नेपालले साइबर ब्युरो कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिएको हो।
प्रसाईँले नेपाल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै उक्त संस्थाका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जाहेरी दिएका हुन् ।
समलिङ्गी विवाहलाई युएसएआइडीद्वारा वित्तीय सहयोग गरिएको प्रसाईँले झुटो प्रचार गरिरहेको जाहेरीमा उल्लेख छ । साथै त्यो पूर्णतः भ्रामक र नेपालको अल्पसंख्यक समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान गरिएको जाहेरीमा उल्लेख गरिएको छ ।
सो संस्थाका निर्देशक पन्तले प्रसाईंविरूद्ध अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गरी साइबर अपराध ऐन अनुसार कारबाहीको माग समेत गरेका छन् ।
