खबर दिनभर : हिंसात्मक बन्यो राजा ल्याउने प्रदर्शन, दुई जनाको मृत्यु, गणतन्त्रवादी हेरेर नबस्ने


राजावादीले गरेको हिंसात्मक घटनाबारे छानबिन गरेर कारबाही गर्ने सरकारको निर्णय
काठमाडौँमा राजावादीले गरेको प्रदर्शनबाट भएको घटनाहरूको सत्य तथ्य छानबिन गरी कारबाहीको दायरामा ल्याउने सरकारले निर्णय गरेको छ ।
शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
आज तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
अराजकता मच्चाएपछि राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर जबरा प्रहरी नियन्त्रणमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ ।
राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
शुक्रबार राजावादी समूहले गरेको प्रदर्शनमा परेर एक पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
राजा ल्याउने आन्दोलनका संयोजक नवराज सुवेदी घरमै नजरबन्द
‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । राजावादीले गठन गरेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको हो ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको थियो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संयुक्त जनआन्दोलन समितिले आजको मितिले एकहप्ता भित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको हो ।
पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक हप्ताभित्र सरकारले आफ्नो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गरेका थिए ।
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ ।
शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगाडि दिनमा सरकार संयमित भएर नबस्ने बताए ।
उनले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताए । आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
उनले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताए । उनका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहित ३० जना घाइते भएका छन् ।
त्यस्तै एक जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उनले बताए ।
उनले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मूलभूत रुपमा उहाँ नै आजका यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ । र आज जति पनि क्षति भएको छ । यो क्षतिको पूर्ण जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँले लिनुपर्छ । मान्छेहरू तत्काल पक्राउ पर्लान् र छुटिहाल्छन् भन्ने स्थिति चाहिँ छैन । अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार १५ जना सुरक्षाकर्मी घाइते हुनु भएको छ । प्रदर्शनकारीको तर्फबाट समेत १५ जना घाइते हुनु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । तीनकुने क्षेत्रमा धेरै व्यक्तिहरूको घरमा ढुंगामुडा भएको छ । केही सरकारी सवारी साधनमा समेत आगजनी भएको छ । जडीबुटीमा रहेको जडीबुटी प्रशोधन केन्द्रको कम्पनीमा पनि आगजनी भएको छ । यो एकदमै अमर्यादित र अमानवीय कार्य हो । यस्तै भएको अवस्थामा सरकार अगाडि दिनमा संयमित भएर बस्दैन ।’
व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक नै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
तोडफोड, हिंसा र अराजकताको निन्दा गरौँ : कांग्रेस
नेपाली कांग्रेसले सङ्घीय राजधानीको तीनकुनेलगायत केही स्थानमा शुक्रबार शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा गरेको छ ।
कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारीसाधन आदिमा भएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
“लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२/६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो । संसद्मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका जनताका प्रतिनिधिहरूको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौँ”, विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्तिमार्फत नागरिकमा रहेका कयौँ असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव रहेको उल्लेख गर्दै नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन दृढ ढङ्गले प्रतिबद्ध रहेको उल्लेख गरे ।
कांग्रेसले कमजोरीको निदान खोज्न र समाधान पहिल्याउन दृढ रहेको उल्लेख गर्दै समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकाङ्क्षा सम्बोधन यही संविधानको दायराभित्रैबाट क्रमशः गर्न सकिने जनाएको छ ।
“लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । कांग्रेस सबै राजनीतिक दललाई यसमा स्पष्ट ढङ्गले उभिन अपिलसमेत गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।
हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाउनेप्रति कांग्रेसले श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा ध्यान दिन सरकारलाई आग्रह गरेको छ । साथै कांग्रेसले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन आग्रह गर्दै समस्त नेपालीमा संयम र एकताका लागि अपिलसमेत गरेको छ ।
राजावादी प्रदर्शनको रास्वपाले गर्यो विरोध
काठमाडौंमा शुक्रबार राजावादीहरुले गरेको प्रदर्शनको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले विरोध गरेको छ । शुक्रबार पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलन संविधानले दिएको अधिकार मात्र नभई लोकतन्त्रमा नागरिक सहभागिताको स्वीकृत विधि भएको बताए ।
जारी विज्ञप्तिमा भनिएको छ,“लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई आज पूर्वराजा पक्षधरहरूबाट भएको अराजकता, मानवीय क्षति, निजी तथा सार्वजनिक सम्पत्तिमाथिको हमला, लुटपाट तथा आगजनी जस्ता अक्षम्य गतिविधिहरुको राष्ट्रिय स्वतन्त्र पार्टी घोर भर्त्सना गर्दछ । आजको घटना भड्काउने र जनधनको क्षति गराउनेहरूलाई हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिनमा आन्दोलनरत पक्षलाई जिम्मेवार एवं शान्तिपूर्णरुपमा प्रस्तुत हुन सचेत गराउँछौं ।
आजको आन्दोलन अराजक हुन सक्ने पूर्व सूचनाहरुका बाबजुद सरकार र गृह प्रशासन कत्ति पनि चिन्तित र तयार नरहेको घटनाक्रमहरुले देखाउँछ । आमजनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो । विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनपर्छ भन्ने हाम्रो ठहर हो ।
आज भएको प्रदर्शनको भिडिओ खिचिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुरका २९ वर्षिय सविन महर्जनको मृत्यु भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । राजावादी समूहले भक्तपुरतर्फ गइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी समेत बालकुमारीमा जलाइदिएको घटनाको पनि हामी निन्दा गर्छौं ।
घाइते हुनुभएका सुरक्षाकर्मी तथा आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीय प्रशासनद्वारा जारी सूचना अनुसार आ९आफ्नो स्थानमा सुरक्षित र अनुशासित रहन हामी सबैमा अनुरोध गर्दैछौं ।”
कहाँ-कहाँ गर्यो राजावादी समूहले आगजनी र तोडफोड ?
राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन गरेको छ । तिनकुनेलाई केन्द्रमा राखेर राजावादी समूहले आन्दोलन गरेको भएपनि काठमाडौंका अन्य स्थानमा समेत प्रदर्शन गरेका छन् ।
उनीहरुले प्रदर्शन गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू समेत लगाइएको छ ।
राजावदीहरुले अराजक गतिविधि प्रदर्शन गरेपछि प्रहरीले लाठी चार्ज सहित हवाई फायर समेत गरेको थियो । प्रदर्शनरत राजावादी समूहले तिनकुनेमा घर तोडफोड सहित घरमा आगजनी समेत गरेका छन् ।
अराजक राजावादी : घरमा आगजनी, सशस्त्र प्रहरीको टाउको फुट्यो
राजसंस्था पुनस्थापना माग गर्दै काठमाडौंको तिनकुनेमा प्रदर्शनरत दुर्गा प्रसाई नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनका क्रममा एक जना सशस्त्र प्रहरी महिला घाइते भएकी छन् ।
प्रदर्शनका क्रममा एक सशस्त्र प्रहरी महिलाको टाउको फुटेको छ । राजावादी समूहको प्रदर्शन अराजक बनेको छ ।
यसअघि घरमा ताडेफोडदेखी आगजनी समेत गरिएको थियो । तिनकुने क्षेत्र अहिले तनावग्रस्त छ । स्थिती नियन्त्रणमा लिन प्रहरी अश्रुग्यासदेखी हवाई फायर समेत गरेको छ ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको छ । शुक्रबार विमानस्थलको झाडीमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा आइनसकेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० लालबाबु सुवेदीले बताए । आगो प्रदर्शनरत राजावादी समूहले लगाएको हुनसक्ने आशंका गरिएको छ ।
आगजनीको कारण बैंकक उड्ने तयारीमा रहेको थाइ एयरको उडान रद्द भएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको उनले बताए । घटनाबारे थप बुझने काम भइरहेको उनले बताए ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत लगाइयो आगो
राजावादीहरुले सरकार मातहत रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा समेत आगो लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा भएको प्रदर्शनमा आन्दोलानमा होमिएकाहरुले यहाँ आगो लगाएका हुन् ।
कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड
राजावादी प्रदर्शनहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका छन् ।
तीनकुनेमा तोडफोड गरे लगत्तै छिन्नभिन्न भएका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित भाटभटेनीमा आगजनी र तोडफोड सुरु गरेका हुन् ।
प्रदर्शनकारीहरूद्वारा नेकपा एसको कार्यालयमा तोडफोड, कागजपत्र र फर्निचर बाहिर ल्याएर जलाए
काठमाडौँको तीनकुनेमा प्रदर्शनरत राजावादी समूहले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।
आलोकनगरस्थिति एसको कार्यालय पुगेर राजावादीको एक समूहले ढुंगामुढा गरेका हुन् ।
उनीहरूले कार्यालय भित्र छिरेर फर्निचरका साथै कागजपत्रहरु पनि बाहिर ल्याएर जलाएका छन् ।
एमाले कार्यालय नजिकै ट्याक्सी जलाइयो,माओवादी पार्टी कार्यालय नजिक आगजनी
नेकपा एमालेको कार्यालय नजिकै प्रदर्शनकारीले एउटा ट्याक्सी जलाएका छन् । राजसंस्था पुनस्थापनाको माग गर्दै प्रदर्शनरत राजावादीहरुले ट्याक्सी जलाएका हुन् ।
प्रदर्शनकारीहरूले दिउँसो पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउमा पनि आगजनी गरेका छन् ।
बालकुमारीमा पनि गाडी जलाइयो
काठमाडौंको बालकुमारीमा समेत राजावादी पक्षधरले प्रदर्शनकारीले गाडी जलाएका छन् ।
तीनकुनेबाट लखेटिएपछि उनीहरुले बालकुमारीमा पुगेर गाडी जलाएका हुन् ।
राजावादी प्रदर्शनकारीहरू अहिले उपत्यकाका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरिरहेका छन् ।
तीनकुनेमा राजावादी समर्थकले व्यक्तिको घरमा लगाइदिए आगो
काठमाडौंको तीनकुनेमा राजावादी समर्थकले व्यक्तिको घरमा आगो लगाइदिएका छन् । शुक्रबार तिनकुनेमा प्रदर्शन गरिरहेको दुर्गा प्रसाई नेतृत्वको राजावादी समर्थकले व्यक्तिको घरमा आगो लगाइदिएका हुन् ।
राजावादीको प्रदर्शन अराजक देखिएको छ । उनीहरुले प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् । यसअघि प्रदर्शनका क्रममा प्रहरी र राजावादी समर्थकबीच तनावको स्थिती भएपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको थियो ।
प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बन्दै कार्यक्रमस्थलबाट बाहिरिएका दुर्गा प्रसाई फेरी कार्यक्रम स्थलमा फर्किएका थिए ।
त्यसपछि पुन कार्यक्रमस्थल पुगेका प्रसाई नेतृत्वको समूहले घरमा आगो लगाइदिएको हो ।
राजावादीको प्रदर्शनमा पत्रकारसहित दुई जनाको मृत्यु, दुर्गा प्रसाईंले के भने ?
राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहले गरेको प्रदर्शनमा परेर हालसम्म दुई जनाको मृत्यु भएको छ ।
प्रदर्शनमा परेर कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार २९ वर्षीय महर्जन दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा सहभागि थिए । यस्तै राजावादीले गरेको आगजनीमा परेर पत्रकार सुरेश रजकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनकुनेस्थित राजावादीले गरेको आगजनीमा परेर एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको हो ।आगलागी भएको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको हो ।
प्रदर्शनस्थलमा तनावको स्थिती भएसंगै प्रहरीले हवाई फायर समेत गरेको थियो ।
यसबीच सामाजिक सञ्जाल फेसबुकमा स्टाटस आन्दालेनका कमाण्डर दुर्गा प्रसाईले युवकको मृत्यु सरकारले गरेको बताएका छन् ।
राजावादीको प्रदर्शनबाट भएको क्षतिको पूर्ण जिम्मेवारी दुर्गा प्रसाईंले लिनुपर्छ : गृह मन्त्रालय
गृह मन्त्रालयले राजावादी आन्दोलन विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भएको आरोप लगाएको छ ।
शुक्रवार साँझ गृह मन्त्रालयमा पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको कारण अगाडि दिनमा सरकार संयमित भएर नबस्ने बताए ।
उनले राजावादीको हिंसात्मक आन्दोलनका क्रममा भएको क्षतिको जिम्मेवार व्यवसायी दुर्गा प्रसाईं रहेको बताए । आन्दोलनको नेतृत्व लिएको कारण घटनाप्रति प्रसाईं जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।
उनले हिंसात्मक र लुटपातको कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याइने बताए । उनका अनुसार राजावादीको तीनकुने आन्दोलनमा झडप हुँदा १५ जना सुरक्षाकर्मीसहित ३० जना घाइते भएका छन् ।
त्यस्तै एक जनाको मृत्यु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइनसकेको र संकलनको कार्य भइरहेको समेत उनले बताए ।
उनले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईंले गरेको हुनाले मूलभूत रुपमा उहाँ नै आजका यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ । र आज जति पनि क्षति भएको छ । यो क्षतिको पूर्ण जिम्मेवारी पनि आयोजकको तर्फबाट उहाँले लिनुपर्छ । मान्छेहरू तत्काल पक्राउ पर्लान् र छुटिहाल्छन् भन्ने स्थिति चाहिँ छैन । अहिलेसम्म हामीलाई प्राप्त विवरणअनुसार १५ जना सुरक्षाकर्मी घाइते हुनु भएको छ । प्रदर्शनकारीको तर्फबाट समेत १५ जना घाइते हुनु भएको छ । भौतिक क्षतिको पूर्ण विवरण आइसकेको छैन । तीनकुने क्षेत्रमा धेरै व्यक्तिहरूको घरमा ढुंगामुडा भएको छ । केही सरकारी सवारी साधनमा समेत आगजनी भएको छ । जडीबुटीमा रहेको जडीबुटी प्रशोधन केन्द्रको कम्पनीमा पनि आगजनी भएको छ । यो एकदमै अमर्यादित र अमानवीय कार्य हो । यस्तै भएको अवस्थामा सरकार अगाडि दिनमा संयमित भएर बस्दैन ।’
व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भत्र्सनायोग्य गर्दै मन्त्रालयले हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक नै पूर्ण रुपमा जिम्मेवार रहेको जनाएको छ ।
राजावादीले भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएका छन् : भुसाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राजावादीहरूले शान्तिपूर्ण प्रदर्शनका नाममा सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालयमा गरेको तोडफोड तथा आगजनीको निन्दा गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मलेनमा पार्टीका महासचिव घनश्याम भुसालले अराजक समूहले सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतङ्क फैलाउन गरेको कार्य आपत्तिजनक रहेको बताए ।
पुनर्उत्थानवादी समूहले आफ्नो केन्द्रीय तथा काठमाडौँ जिल्ला कार्यालयमा आक्रमण गरी तोडफोड र आगजनी गरेको भन्दै उनले आफ्नो पार्टी कार्यालयभित्र उनीहरू प्रवेश गरी भवनका सिसा, फर्निचर तोडफोड गरी महत्त्वपूर्ण कागजात जलाएको जानकारी दिए ।
पार्टीको सुरक्षाका लागि सम्बन्धित सुरक्षा निकायलाई बिहानदेखि खबर गर्दा पनि उनीहरू त्यस विषयमा संवेदनशील नभएकाले घटना हुन पुगेकामा उनले दुःख व्यक्त गरे ।
महासचिव भुसालले मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलापविरुद्ध सबै परिवर्तन पक्षधर एकजुट हुनुपर्नेमा जोड दिए।
राजावादीले गरेको अराजकता र हिंसाको एमालेले गर्यो भत्सर्ना
नेकपा (एमाले) ले सबै राजनीतिक दल पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ । एमालेका महासचिव शङ्कर पोखरेलले आज विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन् ।
एमालेले शुक्रबार पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उडण्डता, अराजकता र हिंसाको घोर भ्रत्र्सना गरेको छ ।
एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
“शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,”, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प समेत गरेको बताए ।
शुक्रबार सुनको मूल्य १ लाख ७६ हजार नाघ्यो
नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १ हजार ४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
आज छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी २ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
रास्वपा सांसद सन्तोष परियारको गाडीमा राजावादीले गरे आगजनी
राजसंस्था पुनस्थापनाको माग गर्दै शुक्रबार आन्दोलनमा होमिएको राजावादी समूमहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आजगनी गरेका छन् ।
संसदको कामकारबाही सकेर घर फर्कने क्रममा बालकुमारीमा राजावादीहरुले परियार चढेको १३८२ नम्बरको गाडी जलाई दिएका हुन् ।
बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादीहरुले रोकेर गाडी जलाएको परियारले बताए ।
कुलमानको मागबमोजिम सर्वोच्चले गरेन आदेश, सरकारको कुरा पनि सुन्ने भन्दै आइतबार पेशी
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनस्थापनाका लागि अन्तरिम आदेश माग्दै सर्वोच्च अदालत पुगेका कुलमान घिसिङको रिट निवेदनमाथि अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।
शुक्रबार उनको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले सरकारको पनि कुरा सुन्ने अदेश गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा शुक्रवार उक्त मुद्दाको पहिलो बहसपछि सरकारको कुरा सुन्नुपर्ने भन्दै आइतवारका लागि पेशी तोकिने जानकारी गराएको हो ।
नवनियुक्त कार्यकारी निर्देशक शाक्यले हितेन्द्रदेव शाक्यले पनि सर्वोच्चमा रिट दायर गरेपछि दुवैलाईसंगै राखेर सुनुवाइ गरि आइइतबारका लागि सुनुवाई तोकिएको हो ।
कुलमानले अन्तरिम आदेश नपाएपछि हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकारबाही अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई विद्यतु प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउँदै हितेन्द्रदेवलाई नियुक्ति गरेको थियो । उक्त निर्णय विरुद्ध असहमति जनाउँदै कुलमानले सर्वोच्च रिट दायर गरेका थिए ।
रिटमा उनले गैरकानूनी तरिकाले आफुलाई हटाइएको भन्दै पुनस्थापना गरिदिन अन्तरिम आदेशको माग गरेका थिए ।
प्रधानमन्त्री कप क्रिकेट : फाइनलमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हुँदै
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबी प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीका कप्तानले आफूहरू फाइनलका लागि सम्पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
शुक्रबार भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले प्रधानमन्त्री कपअन्तर्गत सम्पूर्ण खेलहरू पहिलो पटक उपत्यका बाहिर खेल्न पाउनु अभूतपूर्व रहेको टिप्पणी गरे ।
उपत्यका बाहिर पहिलो पटक खेलिने फाइनल खेलका लागि तयार रहेको भन्दै भोलि सौहार्दपूर्ण वातावरणमा खेल सकिने उनले बताए । भण्डारीले मुलुकभित्र क्रिकेट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता देशभरि आयोजना गर्नुपर्ने बताए ।
उपत्यका बाहिर पनि स्तरीय खेल मैदानहरू निर्माण भइसहेकाले अब काठमाडौँमा केन्द्रित हुन आवश्यक नभएको कप्तानद्वयको भनाइ छ । सबै स्थानमा खेल मैदान भएकाले यसले क्रिकेटको विकासमा टेवा पुर्याउने भन्दै उपत्यका बाहिर यो वर्षदेखि खेल खेलाएर क्रिकेटमा विकेन्द्रीकरणको सुरुवात भएको नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले बताए ।
प्रधानमन्त्री कप क्रिकेटमा राष्ट्रिय टोलीका खेलाडीभन्दा प्रदेशस्तरीय खेलाडीले उल्लेख्य प्रदर्शन गरेका छन् । कप्तानद्वयले विभागीय खेलाडीको प्रदर्शनभन्दा कसरी उदियमान खेलाडीको प्रदर्शन उच्च भएको बताउँदै प्रधानमन्त्री कपको उद्देश्य लुकेका प्रतिभालाई सबैको सामु ल्याउनु रहेको उल्लेख गरे ।
जारी प्रतियोगितामा नौ खेल खेलेको नेपाल पुलिस आठमा जितसहित प्रतियोगिताको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो भने नौ खेल खेलेको आर्मी पनि आठमा जित निकाल्दै दोस्रो स्थानसहित फाइनल पुगेको छ । लिग चरणको अन्तिम खेलमा भने त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई चार विकेटले हराएको थियो ।
वि।सं। २०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्षको फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो ।
आर्मी यसपटक जित निकाल्ने योजनामा छ भने राम्रो गतिमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने योजनामा छ । फाइनलमा पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।
पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशमा भएका हुन् । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तरराष्ट्रिय क्रिकेट मैदान खेल भएका छन् ।
कूल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधिका लागि भोलि प्रतिस्पर्धा हुँदैछ । गत फागुन २५ देखि सुरु खेल भोलि समापन हुनेछ ।
उपाधि रक्षाका लागि दुवै टिमले आन्तरिक रणनीति बनाएका छन् । भोलि बिहान भैरहवास्थित सिद्धार्थ रङ्गशालामा बिहान ९ बजेदेखि फाइनल खेल हुँदैछ ।
