गृहमन्त्रीलाई माधव नेपालको प्रश्न- प्रहरी प्रशासनले तपाईको आदेश मान्न छोडेका हुन् ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तपाईँको आदेश प्रहरी प्रशासनले नमानेको हो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न गरेका छन् ।

शनिवार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा शुक्रवार आन्दोलनकारीहरूले तोडफोड गरी पुर्याएको क्षतिको अनुगमन गर्न पुगेका गृहमन्त्री लेखकलाई उनले यस्तो प्रश्न गरेका हुन् ।

शुक्रवार राजावादीहरूले तीनकुनेमा प्रदर्शनका क्रममा निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरी क्षति पुर्याएका थिए । सोही क्रममा नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरेका थिए ।

पार्टी कार्यालयमा आन्दोलनकारीले आगो लगाएको बारेमा प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले हेलचेक्र्याइँ गरेको पार्टीका नेताहरू बताउँछन् ।

गृहमन्त्री लेखकलाई अवलोकनका क्रममा पार्टी कार्यालय पुग्दा अध्यक्ष नेपालले भने ‘आधा घण्टा वा १५ मिनेट पहिला आन्दोलनकारीहरू आएको भए केही रहँदैन थियो । तपाईँको आदेश नमानेको हो की हामीलाई शंका त त्यो लागिरहेको छ ।’

राजावादीहरूले शुक्रवार तीनकुनेमा निजी सम्पत्तिमा आगजनी गर्नुका साथै बाटोमा गुडिरहेका सवारी साधन, भाटभटेनी, पार्टी कार्यालयहरू र जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्र लगायतका सम्पत्तिहरूमा आगजनी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *