उचित क्षतिपूर्ति सहित पत्रकार रजकलाई शहीद घोषणा गर्न माग

काठमाडौँ । एभिन्यूज टेलिभिजनले पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्न माग गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एभिन्यूजले गृह मन्त्रालयलाई उक्त माग गरेको हो ।

गत शुक्रवार काठमाडौँको तीनकुनेमा भएको राजवादी आन्दोलनका क्रममा व्यक्तिको घरमा लागेको आगोमा परि एभिन्यूजका पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए ।

मृत पत्रकार रजक एभिन्यूज टेलिभिजनका फाटो पत्रकार हुन् ।

एभिन्यूजले एउटा पत्रकारले काठमाडौंमा भएको प्रदर्शनको दृश्य छायाङ्कन गरिरहेको अवस्थामा जिउँदै जल्नुपर्ने अवस्थाले देशकै सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यस सन्दर्भमा हामी प्रदर्शनकारीको अराजकता र राज्य पक्षको गैर जिम्मेवारीपनप्रति घोर भर्त्सना गर्दछौँ । यस घटनाप्रति अझै पनि राज्य र सम्बन्धित पक्ष जिम्मेवार बनोस् र तत्काल सम्बोधन गरोस् भन्ने हाम्रो माग छ ।’

एभिन्युजले यस घटनाका सन्दर्भमा मृतकलाई निरपेक्ष रुपमा शहीद घोषणा गर्न, उच्चस्तरीय समिति गठन गरेर तीन दिन भित्र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।

साथै मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि माग राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *