राजावादीको षड्यन्त्र समाजवादी मोर्चाले असफल पार्यो : प्रचण्ड


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूको षड्यन्त्र समाजवादी मोर्चाले असफल पारेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
समाजवादी मोर्चाले ठूलो जनसमुदायबिच विरोध सभा नगरेको भए राजावादीहरूले ठूला आपराधिक घटना गराउने दाबी गरे । उनले आफूले राजावादीहरूले ठूला घटना गराउने योजना बनाएको सूचना पाएको दाबी गरे ।
उनले राजावादीहरूलाई आततायी र विवेक शून्य तत्त्वको संज्ञा दिँदै विगतमा निरंकुस राजतन्त्र सत्तामा हुँदा प्रेसलाई अंकुस लगाउने काम गरेको भन्दै राजावादीहरूको आक्रमणको निशाना पनि प्रेस नै भएको जिकिर गरे ।
सत्य सूचना प्रवाह गरी अग्रगमन र स्थिरताको चेतना फैलाउने प्रेस जगत प्रतिगामी तत्त्वसँग सचेत बन्नुपर्ने उनको भनाइ छ ।
उनले भने ‘निरंकुश राजावादी तत्वहरुले तीनकुनेमा एउटा आततायी र विवेक शून्य आपराधिक घटनाहरू घटाउँदै थिए र नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति अग्रमण र पश्चगमन फेरि एकचोटी नयाँ सन्दर्भसहित आपसमा टकराइ रहेका थिए । मैले आज बिहान धेरै मानिसहरूले मलाई सम्पर्क गरेर भन्नुभयो, तीनकुनेका जनताले पनि देशभर हजारौँको संख्यामा जनतालाई नउतारेको भए, लोकतन्त्र र गणतन्त्रप्रतिको आफ्नो कमिटमेन्टलाई नगरेको भए त्यतिमात्रै होइन अझ ठुला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्याउने षड्यन्त्र थियो । धेरैको ज्यान बच्यो, धेरै धनजनको क्षति हुनबाट पनि बच्यो । दुई जनाको ज्यान गयो, थुप्रै गाडीहरू घरहरू जलाइए । संघ संस्थाका कार्यालय, पार्टीका कार्यालय जलाइए । तर मलाई जनताले भनेको कुरा बुद्धिजीवीहरूले भनेको कुरा यदि समाजवादी मोर्चाले त्यो स्तरको गणतान्त्रिक शक्तिले त्यो स्तरको प्रदर्शन नगरेको भए आततायीहरूको योजना र रणनीति यो भन्दा भयानक थियो । त्यसलाई रोक्यो भन्नुभएको छ भन्ने कुरा तपाईँहरूसँग राख्न चाहन्छु । हिजोको विवेक शून्य अपराधमा परेर एक जना पत्रकार सुरेश रजकको हत्या भयो घरभित्रै जलाएर हत्या गरियो । हिजो निरङ्कुश सत्ता हुँदा प्रेसमाथि अङ्कुश लगाउने उनीहरूको ध्यान हुन्थ्यो । आक्रमणको निशाना प्रेस नै हुन्थ्यो । ।।हिजो राजावादी भन्नेहरूको आक्रमणको निसाना प्रेस नै थियो जसले सत्य तथ्य समाचार समाचार सम्प्रेषण गरेर जनतामा एउटा नयाँ चेतना अग्रगमन, शान्ति, विकास र स्थिरताको समृद्धिको चेतना फैल्याउँछ त्यही नै निरञ्कुसतावादीको सामन्ती तत्त्वहरूको निशाना हुने गर्छ हिजोको घटनाले पनि त्यसलाई प्रष्ट पारेको छ ।’
अध्यक्ष दाहालले गणतन्त्रवादी दलहरुले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गर्नका लागि ठूलो संख्याको जनसमुदायबिच विरोध सभा गरेर उदाहरण प्रस्तुत गरेको जिकिर गरे ।
गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरूले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने उनको भनाइ छ ।
