सबै दलहरूले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सबै दलहरूले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे । उनले राजनीतिक दलहरूले पनि आफ्ना व्यवहार सुधार गर्दै अघि बढ्नुपर्ने बताए । उनले जनताले राजनीतिक दलहरूबाट सुधार मागिरहेको भन्दै हरेक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए । उनले आफ्ना कमजोरीको आत्मलोचनासहित जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले भने ‘परिवर्तनको वाहक नेकपा माओवादी पार्टी र सबै दलहरूले आफूलाई सुधार्दै, सच्याउँदै परिवर्तनको बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्छ । निरन्तर सुधारको बाटोबाट मात्रै यो सम्भव छ । जनताले आज हामीबाट सुधार मागिरहेका छन् । सुधार खोजिरहेका छन् । हरेक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धता र आफ्ना कमजोरीको आत्मलोचना गर्दै जनताको भावनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता छ । आज हाम्रा विरुद्ध वा परिवर्तनका विरुद्ध, गणतन्त्रकाबिरुद्ध जस्तो देखिए पनि यी गणतन्त्रका विरोधी छन् जस्तो मलाई लाग्दैन । सीमित सामन्तवादका केही अवशेषहरू मात्रै हुन् ।’
आन्दोलनकारीहरूको माग, भावनालाई सम्बोधन गर्नुपर्ने बताए । संघीय लोकतन्त्र बिथोल्न हिंसा र अराजकता फैल्याउने काम भइरहेको भन्दै त्यसप्रति गम्भीर हुनुपर्ने बताए ।
