खुला समाजमा सत्य लुक्दैन : महासचिव पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजावादी समूहद्वारा गत शुक्रबार गरिएको आपराधिक गतिविधिको दोष सुरक्षाकर्मीलाई थोपर्ने प्रयासप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रको योजनाअनुसार बंगलादेशको मोडेलमा सत्तापलट गर्ने प्रयास गरिएको दाबी गर्दै यस घटनालाई नियोजित षड्यन्त्रको रूपमा व्याख्या गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जालमार्फत जनकमाण्डरको रूपमा तोकिएका दुर्गा प्रसाईको नेतृत्वमा भएको हुलदंगा सुरक्षाकर्मीमाथि जबर्जस्ती थोपर्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनका अनुसार, यी गतिविधिहरूको पछाडि रहेको वास्तविकता खुला समाजमा छर्लङ्गै देखिएको छ, तर राजावादी समूहहरू आफूलाई निर्दोष देखाउने प्रयत्नमा जुटिरहेका छन् ।
उनले थप उल्लेख गरेका छन् कि यदि राजावादी र पूर्व पञ्चहरूले आफ्ना गतिविधिहरूको जिम्मेवारी दुर्गा प्रसाई र उनका अनुचरहरूलाई नै सुम्पेका भए, नेपाली जनताले केही मात्रामा भए पनि विश्वास गर्न सक्थे । तर, निर्मल निवासबाट आएको दबाबले गर्दा राप्रपाको संस्थापन पक्ष समेत निरिह बनेको उनले बताए ।
पोखरेलले भने, ‘घटनाको दिनसम्म राप्रपाको संस्थापन पक्षले बेग्लै धारणा राखे पनि निर्मल निवासको दबाबपछि उनीहरू प्रहरी दमनको प्रतिरोध गरिएको दाबी गर्दै घटनालाई भिन्न कोणबाट व्याख्या गर्न थाले ।’ उनका अनुसार, पूर्व पञ्चहरूको नियति निर्मल निवासको डरले फेरिएको छ, जसका कारण उनीहरू वास्तविकता लुकाउने प्रयासमा छन् ।
