ज्ञानेन्द्र शाह दायरा नाघेर राज्यविरुद्धको अपराधमा उत्रिए : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति दलहरूबीच नयाँ सहमति आवश्यक भएको बताएका छन् । जनआन्दोलनका क्रममा भएको समझदारी उल्लंघन गरेका कारण राजनीतिक दलहरूले पुनः नवीन समझदारी गर्नुपर्ने परिस्थिति आएको उनले बताएका हुन् ।

रिजालले जनआन्दोलनका बेला दलहरू र तत्कालीन राजा बीच प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एक समझदारी बनेको स्मरण गराए । उक्त समझदारीअनुसार, पूर्वराजा ज्ञानेन्द्रले देशभित्र बस्न, व्यापार व्यवसाय गर्न पाउने तथा उनीमाथि कुनै कानूनी कारबाही नहुने शर्त थियो । त्यसको बदलामा, उनले गणतन्त्रलाई स्वीकार गर्दै नेपाली नागरिकका रूपमा जीवनयापन गर्नुपर्ने थियो।

तर, रिजालका अनुसार, ज्ञानेन्द्र शाहले यो सहमतिको परिधि पार गर्दै राज्यविरुद्धका गतिविधिमा संलग्न भएको देखिएको छ । यस कारण दलहरूबीच पुनः नवीन सहमति गरी उनीविरुद्ध आवश्यक कदम चाल्नु पर्ने उनको धारणा छ । उनले भने, ‘सर्पलाई दूध खुवाएर पाल्दा कस्तो परिणाम आउँछ भन्ने अहिले प्रस्ट हुँदैछ ।’

चैत १५ गते काठमाडौँको तीनकुनेमा पूर्वराजा शाहका समर्थकहरूले उग्र प्रदर्शन गर्दै हिंसात्मक गतिविधि गरेका थिए, जसका कारण दुई जनाको ज्यान गएको थियो । उक्त घटनापछि, सरकारद्वारा शाहको सुरक्षामा कटौती गर्दै उनीमाथि निगरानी राख्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *