डा. लोहनीले मेयर बालेनसँग मागे ७ टिप्पणीको जवाफ


काठमाडौं । राप्रपाका नेता तथा पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सस्तो लोकप्रियता हासिल गर्ने दौडमा रहेको टिप्पणी गरेका छन् ।
शुक्रबार तीनकुनेमा आयोजित कार्यक्रममा, डा. लोहनीले फोहोर र तोडफोडको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपियाँ जरिवानाको पत्र पठाउने कदममा असन्तुष्टि जनाए । उनले सोधेका छन्, कुन कानूनी आधारमा यस्तो जरिवानाको पत्र पठाइएको हो ?
राजसंस्था पुनःस्थापना आन्दोलनका एक प्रमुख नेता, डा. लोहनीले सात बुँदे वक्तव्य जारी गर्दै मेयर बालेन शाहसँग स्पष्टीकरण मागेका छन् । उनले भने, ‘हामी अहिलेसम्म बालेनका पक्षमा थियौं, तर आयोजक नभएका र कुनै स्पष्ट कारण बिना जरिवाना मागिनु भनेको सस्तो लोकप्रियता कमाउने प्रयास हो ।’
- डा. लोहनी लेख्छन् :-
मेयर बालेन सााहले राजा ज्ञानेन्द्रलाई जरिवाना तोक्नु भएछ । के यो ठीक हो ?
एकपटक निम्न बुँदाहरू विचार गरौं ।
१) चैत्र १५ गतेको राजनैतिक कार्यक्रममा दुई पक्ष थिए । एउटा कार्यक्रम गर्ने पक्ष र अर्को कार्यक्रम गर्न स्वकृति दिने पक्ष अर्थात नेपाल सरकार ।
(२) कार्यक्रम सुरु भएर मञ्चमा बोल्नु अगाडि नेपाल सरकारकों तर्फबाट मकै पड्केको जस्तो गरी मञ्चमा अश्रुग्यास प्रहार भयो।म स्वयं बोल्नेप्रयास गर्दै थिए अश्रुग्यास प्रहार वाट आखा नदेख्ने र स्वास फेर्न पनि गाह्रो अवस्थामा पुगे ।
(३) ठूलो भीडको बिचमा, आफैँले भाषण गर्न स्वीकृति दिएको सभामा र भाषण गर्ने मञ्चमा समेत अश्रुग्यास प्रहार गर्नु कुन नियम, कानून र प्रोटोकलले जायज छ ?
यस्को दोषी को हो ?
४) अश्रुग्यास प्रहारबाट भिड आक्रोशित भएर तितर-बितर भयो । आफूले स्वीकृति दिएर स्वभावत: भइरहेको भाषण र आमसभालाई नेपाल सरकार स्वयंले भाँड्यो र आतङ्कको स्थिति सिर्जना गयो । यो तथ्यलाई बालेनजीले कसरी हेर्नुभएको छ ?
५) यसपछिको आक्रोसित भिड र प्रहरीबीच द्वन्द्व र नोक्सानसमेत भयो ।
६) माथि १ देखि ५ सम्मको घटनामा बालेनको नजरमा राजा ज्ञानेन्द्र शाह कसरी र किन जोडिन पुग्नुभयो ।
७) कानूनबमोजिम यो सब घटनामा स्वीकृति लिने र दिने पक्ष हुँदाहुँदै सबै तथ्य बिर्सिएर राजा ज्ञानेन्द्र शाहलाई जरिवाना भन्ने पत्र पठाउन नेपालको कुन कानून र मान्यताले दिन्छ ?
बालेनजीले जनतालाई राम्रोसँग बताउनुपर्यो ।
अन्यथा यो पत्राचारलाई सस्तो लोकप्रियताको दौडमात्र रहेको बुझ्नुपर्ने भएको छ ।
बालेनजी, मजस्ता धेरै काठमाडौंबासी शुभचिन्तक तथा आमनागरिक अहिलेसम्म तपाईका हितैसि छौं , तर अब हामीलाई जवाफ चाहियो ।
