अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक सम्पत्ति नेपाल फिर्ता (तस्बिरहरू)

काठमाडौँ । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका २१ वटा पुरातात्त्विक महत्वका कलात्मक वस्तुहरू नेपाल फिर्ता ल्याइएको छ ।

आइतबार बिहान पुरातत्व विभागले मूर्तिहरूलाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।

यीमध्ये तीनवटा पौवा चित्रहरू (१५–१८ औं शताब्दी) का रहेका छन् । यी पौवा चित्रहरू काठमाडौँस्थित इटुम्बहालबाट वि.सि. २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो ।

साथै आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान –१ (१२- १३ औँ शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरू (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली सम्पदाहरू संसारको कुनैपनि कुनामा पुगे पनि नेपाली सम्पदाको महत्वलाई बुझेर सम्पदा फर्काउने योग्यता राख्ने बताए । अब नेपालबाट मूर्तिहरू चोर्ने कुचेष्ठा गर्न नसक्ने बताए । विगतमा गएका चिजहरू अहिले फर्किनु पनि सकारात्मक रहेको जिकिर गरे ।

विगतमा यस्ता किसिमका सम्पत्तिहरू कसरी गए ? भन्दै प्रश्न गरे । अब दुराचार गर्ने समय नरहेकाले चोरी हुन नसक्ने बताए । मूर्तिहरू प्रतिस्थापनका लागि आफूहरू प्रतिबद्ध रहेको र आर्थिक अवस्थाको चिन्ता नगर्न आग्रह गरे ।

स्थानीय सरकारहरू आफ्नो आस्था जोगाउन अब सक्षम रहेको जिकिर गरे ।आस्थाका धरोहरहरू विगतमा हराएका ठाउँमै प्रतिस्थापन गर्न प्रतिबद्ध रहेको बताए ।

अहिलेसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्त्विक महत्वका मूर्तिहरू तथा कलात्मक वस्तुहरू विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरूको प्रयासबाट फिर्ता भइसकेका छन् ।

अमेरिका, फ्रान्स, बेलायत, चीन, अष्ट्रिया, अस्ट्रेलियाजस्ता देशहरूबाट थप अरु केही कलात्मक वस्तुहरू फिर्ताको लागि कूटनीतिक पहल भइरहेको छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्त्विक महत्त्व भएका वस्तुहरूको संख्या १०४ पुगेको छ ।

       

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *