ताप्लेजुङमा आगलागीका घटना बढ्दै

ताप्लेजुङ । जिल्लामा पछिल्लो समय आगलागीका घटना बढिरहेका छन् । विशेष गरी सुक्खा याम सुरु भएसँगै आगलागीको जोखिम उच्च बनेको हो ।

गत आइतबार मेरिङ्देन गाउँपालिका–५ सिङ्थाप गाउँमा दिउँसो ३ बजे सन्तोष तामाङको घरमा आगलागी भयो ।

केहीबेरमा घर जलेर पूर्ण रूपमा नष्ट भएपछि तामाङ परिवार विस्थापित हुनुपर्‍यो । यस घटनाबाट करिब छ लाख बराबरको क्षति भएको छ ।

यसैगरी, मङ्गलबार आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर गाउँका लालबहादुर कालीकोटेको घरमा आगलागी हुँदा उनको परिवार पनि विस्थापित भयो ।

अघिल्लो आइतबार फुङ्लिङ नगरपालिका–३ साउनेपानी गाउँमा प्रेम निरौलाको घरमा आगलागी भयो ।

नगरपालिकाले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि उक्त घटनाबाट चार लाख बराबरको क्षति भएको नगर कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन १६ गतेसम्म १५ स्थानमा आगलागीका घटना भएका छन् ।

ती घटनामा ११ घर पूर्ण रूपमा जलेका छन् भने ११ परिवार विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार एक घटनामा श्रीमान्–श्रीमतीबिचको झगडाका कारण आगलागी हुँदा पाँच लाख बराबरको क्षति पुगेको छ ।

त्यस्तै, चार वटा पुलमा आगलागीबाट क्षति पुगेको छ । उनले चालु आवको नौ महिनामा आगलागीबाट ५७ लाख ९५ हजार बराबरको क्षति भएको जानकारी दिए ।

गत आवमा आगलागीका कारण जिल्लामा ३२ घर जलेर नष्ट भएका थिए भने एक हजार ५६० रोपनी वन क्षेत्र नष्ट भएको थियो ।

आगलागीका घटनाले जनधनको मात्र होइन, वन सम्पदा, वन्यजन्तु, पूर्वाधारलगायत संरचनामा गम्भीर क्षति पुर्‍याउने भन्दै सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *