राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एसले देशव्यापी प्रदर्शन गर्ने


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोड लगायतका कार्यप्रति निन्दा व्यक्त गर्दै चैत २५ गतेभित्र देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापी रुपमा भण्डाफोर र विरोध गर्ने निर्णय गरेको हो ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही माग गर्ने निर्णय भएको समेत जानकारी दिए ।
उनकाअनुसार बैठकले अराजकतावादीहरूको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको ठहर गरेको छ । उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन माग समेत गरे ।
उनले सञ्चार गृहमाथि आक्रमण गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताए ।
बैठकका निर्णय सुनाउँदै उनले भने ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को काठमाडौं आलोकनगरस्थित केन्द्रीय कार्यालय र काठमाडौँ जिल्ला कार्यालय तथा पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको निवास लगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरुद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूले सम्बन्धित तहमा देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ ।’
सरकारले उचित सुरक्षा व्यवस्थापन गर्न नसकेको कारण भौतिक क्षति भएको समेत पार्टीको ठहर छ ।
