राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा छन् : प्रकाशशरण महत


काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् ।
आइतबार संघीय संसद परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्री समेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्शकुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताए ।
उनले राजावादी समूहहरूको प्रदर्शनका क्रममा उनीहरूलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको बताए । उनले राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पत्तिमा क्षति पुर्याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताए ।
उनले भने ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार ग¥यो । जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो त्यसबाट उनको लक्ष्य भनेको निरङ्कुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ । मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो । जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पत्तिमा क्षति पुर्याएका छन् र जसले उत्तेजना फैलाएको छ तिनीहरूलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला ।’
लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको कारण लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ छ ।
