बाबुरामको टिप्पणी : राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु हो

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रमा भएका कमी, कमजोरीलाई लिएर राजतन्त्र फर्काउनुपर्छ भन्नु भोक लाग्यो भनेर विष पान गर्नु सरह भएको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले हिम्मत हारेर र निराश भएर नहुने भन्दै राज्यमा विकृति भए र सत्तामा बस्नेहरूले गल्ती गरे जनताले सच्याउनुपर्ने बताए । उनले अहिलेको परिस्थितिमा शतर्क हुनु जरुरी रहेको बताए । लोकतन्त्रका कमी, कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए ।

उनले भने ‘हिम्मत हारेर हुँदैन, निराश भएर हुँदैन, जब समाज, राज्यमा विकृति हुन्छ, सत्तामा बस्नेहरूले गल्ती गर्दछन्, त्यतिबेला खबरदारी गरेर सच्याउने जनताले हो । तर लोकतन्त्रमा लडेका नेताहरू, लोकतन्त्र प्रणालीमा काम गरिरहेकाहरूले गल्ती, कमजोरी गरे भनेर लोकतन्त्रका विरोधीहरू निरंकुशता, राजतन्त्रवादी शक्तिहरु आउनुपर्छ भनेर बुझ्नु त्यो भोक लाग्यो भनेर विष पान गर्नु जस्तै हुन्छ । त्यो श्रेयस्कर, बुद्धिमानी हुँदैन । अहिले जुन किसिमको परिस्थिति निर्माण हुँदैछ, त्यसमा हामी शतर्क बनौँ । हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली इतिहासमा ढिलै भएपनि ल्याएका छौँ, यसका कमी, कमजोरीहरू छन् । यसलाई सच्याउँदै अघि बढ्नुपर्छ ।’

उनले संविधानमा केही त्रुटिहरू रहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए । शासकीय स्वरूप र निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *