स्वागत नेपाल रिहा हुँदा रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई राजद्रोहको मुद्दा


काठमाडौँ । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल हाजिरी जमानीमा छुटेसँगै राप्रपा नेता रवीन्द्र मिश्र र सांसद धवलशमशेर जबरा थुना परेका छन् ।
गत शुक्रवार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि स्वागत नेपाल, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका थिए ।
तर स्वागत नेपाललाई भने प्रदर्शन स्थलमा नदेखिएको भन्दै प्रहरीले आज हाजिरी जमानीमा छाडेको छ ।
सँगै रवीन्द्र मिश्र, सांसद जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो ।
उनले ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न गर्न अदालतमा पेस गरिएको बताए । उनले आरोपितहरूमाथि छानबिन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुसार, अदालतमा पेस गरेर म्याद थप हुने उनले बताए ।
घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख अपिलराज बोहराले जानकारी दिए ।
प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।
