एमालेको केन्द्रीय सचिवालय बैठक : संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प

काठमाडौँ । सत्तारुढ नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गरेको पार्टीका महासचिव शंकर पोखरेलले बताएका छन् ।

महासचिव शंकर पोखरेलले सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान समेत गरेका छन् ।

‘नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ ।’

पोखरेलले जारी विज्ञप्तिमा भनेका छन्, ‘बैठकले राजावादीका नाममा काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी लगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै त्यसको निन्दा तथा भर्त्सना गरेको छ ।’

पोखरेलले बैठकमा राजावादीका नाममा भएका अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको बताए ।

भनिएको छ ‘ शान्तिपूर्ण प्रदर्शनका नाममा सवारी साधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आत‌ङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने जस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गर्दछ ।’

साथै, विज्ञप्तिमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको उल्लेख गरिएको छ ।

संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई अनुरोध गरेको छ ।

बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *