नेपाल हिन्दू परम्परामा आधारित राष्ट्र हो : देउवा


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई हिन्दु धर्म, संस्कृति, र परम्परालाई मान्ने राष्ट्रको रूपमा चित्रित गरेका छन् । डोटी र डडेल्धुराको सीमामा रहेको गहनान क्षेत्रमा आइतवारदेखि सुरु भएको श्रीमद् देवी भागवत महापुराण ज्ञान धनधान्याञ्चल लक्ष हवन महायज्ञको उद्घाटनका क्रममा उनले यस विषयमा आफ्ना विचार व्यक्त गरे ।
उनका अनुसार, नेपाल औपचारिक रूपमा हिन्दू राष्ट्र नभए पनि यसको मौलिक पहिचान हिन्दू संस्कृतिसँग गासिएको छ। उनले नेपालमा गाईलाई पूजा गरिने परम्परा रहेको र त्यसैकारण गाई वध दण्डनीय रहेको स्पष्ट गरे । डडेल्धुराका स्थायी बासिन्दा देउवाले बाल्यकालमा गहनान क्षेत्रसँग आफ्नो सम्बन्ध रहेको स्मरण गर्दै यहाँ धेरै पटक आएको उल्लेख गरे ।
उनले आफ्नो बाजेको अन्त्येष्टि समेत यही स्थानमा गरिएको बताउँदै धार्मिक तथा सांस्कृतिक महत्वको क्षेत्रका रूपमा गहनान धामको प्रशंसा गरे । साथै, उनले महाभारत पर्वतस्थित घण्टेश्वर मन्दिर र महाकाली नदी किनारमा रहेको परशुराम धामलाई यस भेगका प्रमुख धार्मिक स्थलका रूपमा प्रस्तुत गरे ।
धार्मिक पर्यटन प्रवर्द्धन र गहनान क्षेत्रको समग्र विकास गर्ने उद्देश्यले आयोजित महायज्ञ २५ गतेसम्म सञ्चालन हुने महायज्ञ मूल समितिका संयोजक ललित बलायरले जानकारी गराए ।
