त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन, कसले मार्ला बाजी ?


काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । मतदान प्रक्रिया बिहान ८ बजे प्रारम्भ हुने भनिए पनि प्राविधिक तयारीका कारण केही ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ ।
अपराह्न ४ बजेसम्म मतदान हुनेछ । यसपटक पनि स्ववियु निर्वाचन विद्युतीय मतदान प्रणालीमार्फत हुने भएको छ । २०७९ सालमा पहिलो पटक विद्युतीय मतदान प्रणाली लागू गरिएको थियो, जसलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु नेतृत्वका लागि प्रमुख विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विभिन्न समूह प्रतिस्पर्धामा छन् । साथै केही स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो उम्मेदवारी दिएका छन् ।
निर्वाचन प्रतिस्पर्धामा नेकपा (एमाले) निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच तालमेल भएको छ । जबकि नेविसंघ र अखिल क्रान्तिकारी भने स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्दैछन्। स्ववियु अध्यक्ष पदका लागि प्रमुख उम्मेदवारहरूमा अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेविसंघबाट दीपकराज जोशी, अखिल क्रान्तिकारीबाट प्रविन दाहाल, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, सुधारवादी विद्यार्थी संघबाट मिलन तामाङ, नेक्राविसंघबाट विमल सुवाल, अखिल क्रान्तिकारी बहुमतबाट राजन साउद तथा स्वतन्त्र उम्मेदवार पदमा भुसाल रहेका छन् ।
स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्का, अनेरास्ववियु (क्रान्तिकारी) बाट भुवन तिमिल्सैना, स्वतन्त्र उम्मेदवार दिप्रसन केसी र नरेन्द्रसिंह साउद पनि अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । प्रमुख उम्मेदवारहरूमध्ये सिद्धान्त भट्ट यसअघि स्ववियु सचिवका रूपमा निर्वाचित भइसकेका छन् भने पद्मा भुसाल कोषाध्यक्षको जिम्मेवारीमा थिइन् ।
निर्वाचन समितिका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेका छन् । प्रारम्भिक रूपमा चैत ५ गतेका लागि तय गरिएको मतदान प्रक्रिया विद्यार्थी संगठनहरूबीचको तालाबन्दीका कारण स्थगित भएको थियो ।
