पार्टी नेतृत्वमा लामिछाने पुनरागमन, बोलाइयो केन्द्रीय समिति बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच महिनापछि पुनः सक्रिय राजनीतिक भूमिकामा फर्कदै छन् । सोमबारदेखि उनले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्ने भएका छन् । लामिछाने गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पक्राउ परेपछि पार्टी नेतृत्वबाट अलग रहेका थिए ।
उनको अनुपस्थितिमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) कार्यवाहक सभापतिको भूमिकामा रहेका थिए । अदालतको फैसलापछि लामिछाने धरौटीमा रिहा भए तापनि मुद्दा अझै विचाराधीन अवस्थामा रहेको छ । सोमबार अपराह्न ३ बजे पार्टीको केन्द्रीय समिति बैठक पार्टी मुख्यालय चावहिलमा बोलाइएको छ, जहाँ लामिछाने औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।
सोमबारको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ । यस बैठकमा उनले आफ्नो पद हस्तान्तरण गर्दै धन्यवाद ज्ञापन गर्ने कार्यक्रम छ । त्यसपछि लामिछानेको अध्यक्षतामा दोस्रो बैठक हुनेछ, जसमा पार्टी र संसद्का गतिविधिहरूबारे समीक्षा गरिनुका साथै केन्द्रीय सदस्यहरूले संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा लिडरसिप एकेडेमीको संरचना, जनयात्रा कार्यक्रम, राजनीतिक प्रतिवेदनका आधारमा देशव्यापी जागरण अभियान तथा बहसबारे छलफल हुनेछ। साथै, पार्टीको अधिवेशन-महाधिवेशन कार्यतालिकाका सम्बन्धमा समेत विमर्श गरिनेछ । रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने लक्ष्य राखे तापनि निर्धारित कार्यतालिकाअनुसार जिल्ला भेला, वडा र पालिका अधिवेशनहरू सम्पन्न हुन सकेका छैनन् ।
अहिलेसम्म मात्र पाँच पालिकाका अधिवेशनहरू सम्पन्न भइसकेका छन् । बैठकमा विविध अन्य प्रस्तावहरूमाथि पनि छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
