भूमिगत अवस्थामै सक्रिय दुर्गा प्रसाईं, प्रहरीको पक्राउ प्रयास असफल


काठमाडौं । शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादीहरूको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई प्रहरीले तीन दिनसम्म पनि पक्राउ गर्न सकेको छैन । प्रहरी परिचालन गरेर खोजी गरिए पनि उनी अझैसम्म फरार छन् ।
शुक्रबारको आन्दोलनपछि ललितपुरको इमाडोल पुगेका प्रसाईं त्यहाँबाट भूमिगत भएका थिए । प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न ठाउँमा छापा मारे पनि उनी फेला परेका छैनन् । यद्यपि, उनी सामाजिक सञ्जालमा भने निरन्तर सक्रिय देखिएका छन् ।
प्रहरीले विशेष टोली परिचालन गरी प्रसाईंको खोजी गरिरहेको भए पनि सफलता हात लाग्न सकेको छैन । शनिबारदेखि नै उनको खोजी कार्यलाई तीव्र पारिएको थियो । प्रहरी अधिकारीहरूका अनुसार प्रसाईंको खोजीमा प्रविधिको प्रयोग गरी ट्रयाक गर्न खोजिए पनि सफलता मिलेको छैन । प्रहरीका एक अधिकारीका अनुसार, ‘फेसबुक जस्ता सामाजिक सञ्जाल ट्रयाक गर्न अन्तर्राष्ट्रिय कम्पनी मेटाको सहयोग आवश्यक पर्छ । नेपालमा उनीहरूको कार्यालय नहुँदा आवश्यक सूचना तत्काल प्राप्त गर्न कठिन भइरहेको छ ।’
आइतबार साँझ प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सार्वजनिक गर्दै आफू काठमाडौंकै एक मन्दिरमा सुरक्षित रहेको बताएका छन् । उनले सरकारलाई नै आन्दोलन हिंसात्मक बनाएको आरोप लगाउँदै आफूलाई भेट्नासाथ गोली हान्न प्रधानमन्त्री केपी ओलीले आदेश दिएको दाबी गरेका छन् । उनले सुरक्षाको कारण आफूलाई लुक्न बाध्य पारिएको बताएका छन् ।
शुक्रबारको आन्दोलनका क्रममा उनले आफैँ गाडी चलाएर निषेधित क्षेत्र तोड्दै प्रहरीलाई धकेलेका थिए । आन्दोलनलाई उग्र बनाउने योजनाबद्ध रणनीति बनाएको प्रहरीको दाबी छ । उनीमाथि हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप छ, जसका कारण उनी पक्राउको सूचिमा परेका छन् ।
सरकारले आन्दोलनमा संलग्न रहेका अन्य अभियुक्तहरूमाथि निगरानी बढाएको छ । प्रहरीले प्रसाईंको सम्भावित शरणस्थलहरूमा निगरानी राख्दै खोजी गरिरहेको छ । तीन दिन बितिसक्दा पनि प्रहरीले उनलाई पक्राउ गर्न नसक्दा सरकारले कडा रणनीति अपनाउने तयारी गरिरहेको बुझिएको छ ।
