चालु अधिवेशनको अन्तिम बैठक, के छ कार्यसूची ?


काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न महत्वपूर्ण प्रतिवेदन तथा विधेयकहरू पेस गरिनेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन (२०७९/८० र २०८०/८१) बैठकमा प्रस्तुत गरिनेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि छलफल गर्न प्रस्ताव राख्नेछन् । त्यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० लाई राष्ट्रिय सभाबाट संशोधनसहित विचार गर्न प्रस्ताव गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गर्न र पारित गर्न प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ माथि छलफल तथा पारित गर्न पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको प्रस्ताव राख्नेछन् ।
सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन समाप्त गर्ने सिफारिस गरेको थियो । संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिले सरकारको सिफारिसमा अधिवेशन अन्त्य गर्नेछन् ।
